धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतीमा लिएर मिलापत्र गराउने प्रक्रिया थालेपछि पीडितहरु धमाधम आउन थालेकाले सहायता कक्षमा भीडभाड बढेको छ। कार्यालय परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुने गरेको छ ।
प्रहरीको उपस्थितीमा प्रशासनले मिटरब्याज पीडित र पीडक व्यक्तिलाई एकआपसमा सहमती गराउने काम गरिरहेको छ भने सहमती नजुटेका उजुरी थप कारवाहीका लागि प्रहरी र अदालत मुद्दा पठाइने स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले उजुरी दिन तोकिएको अन्तिम समय १४ जेठसम्म २४५ वटा उजुरी परेको जानकारी दिए।
जोशीका अनुसार अहिले ती उजुरीको अध्ययन गर्ने, दुवै पक्षलाई बोलाएर छलफल गराउने तथा सहमती गराएर मिलापत्र गराउने काम भइरहेको छ। सोमबारसम्म मिटरब्याज सम्बन्धीका ६४ वटा उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गरिएको छ। ती मध्ये १४ उजुरीमा भने सहमती गरिएको छ। बाँकीको हकमा भने दुवै पक्ष सहमतीमा नआएका कारण थप कारवाहीको प्रक्रिया अघि बढेको छ। उनकाअनुसार मिटरब्याज सम्बन्धी उजुरीमा दिनेहरुमा पैँसा लेनदेन, जग्गा खरिदबिक्रि, ढुकुटी खेलेका जस्ता समस्या रहेका छन्।
मिटरब्याज सम्बन्धीका उजुरीमा दुवै पक्षसँग छलफल गरेर सहमती गराउने काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले नै मिलापत्रका नाममा विचौलियाको प्रयोग गरेर दुःख दिने गरेको गुनासो गरिएको छ। दुवै पक्षसँग छलफल गरेर समस्या हल गर्न कर्मचारी खटाएर छुट्टै सहायता कक्ष स्थापना गरिएको भएपनि कर्मचारीकैे मिलेमतोमा विचौलियाको प्रयोग भइरहेको पाइएको छ। एकजना पीडितकाअनुसार तल्लो तहका कर्मचारीदेखि प्रमुख जिल्ला अधिकारीसम्म आफ्नो पहुँच रहेको बताउने तेजबहादुर देउवाले प्रशासन कार्यालयभित्र विचौलियाको भूमिका खेल्ने गरेका छन्। दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा भेटिने देउवाले मिटरब्याज पीडितको मुद्दा मिलाइने भनेर दुवै पक्षलाई छलफल गराउने, एकलाई अर्काका विरुद्ध उचाल्ने, कम ब्याज तिराउन कर्मचारीलाई मिलाइदिने जस्ता प्रलोभन दिने गरेका छन्। उक्त काम गरेवापत आफूलाई पनि केही सहयोग गर्नुपर्ने पीडित र पीडित दुवै पक्षलाई प्रस्ताव राख्ने गरेको गुनासो गरिएको छ।
स्थानीय प्रशासन शाखाका खरिदार माधव फुुलाराले उनै देउवालाई भेटेर कुराकानी बाहिरै मिलाएर आफूकहाँ आउन भन्ने गरेका छन्। एक कर्मचारीकाअनुसार विचौलियाको भूमिकामा देखिएका देउवाले मिटरब्याज पीडितलाई अनावश्यक दुःख दिएको भन्दै प्रशासन परिसरमा विवाद भएको थियो। प्रशासकीय अधिकृत तथा सूूचना अधिकारी शिवराज जोशीले भने विचौलियाको भूूमिका खेल्ने व्यक्ति नियमित जसो प्रशासन कार्यालयमा आउने गरेको कुुरा सत्य भएको तर मिटरब्याज पीडितको मुद्दामा अनावश्यक दुःख हैरानी दिएको कुरा जानकारी नभएको बताए। प्रशासन कार्यालयले पीडितहरुको सहजीकरणका लागि प्रहरी राखेको बताउदै जोशीले देउवासँग कुुनै सम्बन्ध नभएको बताए। जोशीले देउवाले पीडितसँग बार्गेनिङ गरी रकम असुलेको, अनावश्यक दुःख दिएको कुरा खुलेमा कारवाहीको दायरामा ल्याइने बताए । यता विचौलियाको भूूमिका खेलेको आरोप लागेका तेजबहादुर देउवाले भने आफ्नो सासु आमा पनि मिटरब्याज पीडित भएको बताउँदै सोही उजुरीमा छलफल गर्न आएका बेला पीडितहरु समस्यामा परेको देखेर सहयोग मात्र गरिदिएको दाबी गरेका थिए ।
तर देउवाले स्थानीय प्रशासन शाखाका खरिदार माधव फुलारासँग मिलेर मिटरब्याज पीडितसँग अनुचित बार्गेनिङ गर्दै विचौलियाको भूूमिका खेल्ने गरेको आरोप लागेको थियो । खरिदार फुलाराले पनि देउवासँग मिटरब्याज पीडित र पीडक पक्षबीच सहजीकरणको भूमिका खेलिदिन आग्रह गर्ने गरेका थिए ।मिटरब्याजको मुद्दामा विचौलियाको भूमिका खेलेको आरोप लागेका कञ्चनपुरको गुलरियाका तेजबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय प्रवेशमा रोक लगाइएको छ। मिटरब्याज पीडितका मुद्दा कर्मचारी र प्रमुख जिल्ला अधिकारीसँग राम्रो सम्बन्ध रहेको बताउदै मिलाइदिने आश्वासन दिदै विचौलियाको भूूमिका खेलेका देउवालाई प्रशासन प्रवेशमा रोक लगाइएको बताइएको छ।