कैलाली। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आर्थिक वर्ष २०७९/८० मा साढे २ करोड बढी राजश्व संकलन गरेको जनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएका ट्राफिक चेकिङका क्रममा सवारीसाधनलाई गरेको कारबाहीबाट २ करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको हो।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुई करोड ३३ लाख ७८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो । अघिल्लो आर्थिक बर्ष भन्दा आर्थिक वर्ष २०७९/८० मा २१ लाखले राजश्व बढी उठेको हो । गएको आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले बताए ।
एक वर्षको अवधिमा १९ हजार २४५ मोटरसाइकल कारबाहीमा परेका हुन् भने सबै भन्दा बढी राजश्व पनि मोटरसाइकल कारबाहीबाटै उठेका छ। इन्स्पेक्टर जोहारीका अनुसार मोटरसाइकललाई कारबाही गरेर एक करोड नौ लाख २० हजार पाँच सय संकलन भएको छ। यस्तै सात हजार ४५१ ट्रकलाई कारबाही गर्दा ४३ लाख ९१ हजार, दुई हजार ५८७ बसबाट १४ लाख ४८ हजार पाँच सय, सात हजार ९५१ जिपबाट ४२ लाख ३५ हजार पाँच सय, चार हजार ११८ ट्याक्टरबाट २२ लाख ८५ हजार र अन्यबाट २१ लाख ९९ हजार पाँच सय गरी दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको उनले जानकारी दिए ।
उनले धेरैजसो सवारीसाधनका कागजपत्र नबोकेका, क्षमताभन्दा बढी यात्रु बोकेका, बढी मालसामान ढुवानी गरेका, लाइसेन्स नभएका र ट्राफिक नियम पालना नगरेका कारण सवारीसाधन कारबाही पर्ने गरेको बताए । यस वर्ष बढी राजश्व संकलन हुनुको प्रमुख कारण ट्राफिक प्रहरीको सक्रियता रहेको बताइएको छ । कम जनशक्तिका बाबजुद पनि कैलाली ट्राफिकले सुदूरपश्चिमका ८ जिल्लाको भन्दा बढी राजश्व संकलन गरेको दाबी गरेको छ। सुदूरका ९ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले लगभग साढे पाँच करोड राजश्व उठाएका छन् । जसमा कैलाली ट्राफिकले मात्रै झण्डै त्यसको आधा दुई करोड ५४ लाख ८० राजश्व उठाएको देखिएको छ। यस्तै कैलालीमा राजश्व संकलन बढे पनि सवारी दुर्घटनामा कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३४० सवारी साधन दुर्घटनामा परेका थिए भने यो आर्थिक वर्षमा १६२ सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख जोहारीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा परेर ७६ जनाको मृत्यु र २४० जना गम्भीर घाइते भएका थिए भने यो वर्ष ६५ जनाको मृत्यु र १०० जना गम्भीर घाइते भएका छन् ।
यस वर्ष दुर्घटनामा कमी हुनुका विभिन्न कारण रहेको प्रहरी निरीक्षक जोहारी बताउँछन् । उनका अनुसार ट्राफिक जनचेतनामूलक कार्यक्रम तीव्र हुनु, ट्राफिक नियम उलंघन गर्ने चालकलाई कक्षा दिनु, ट्राफिक प्रहरीको सक्रियता, चेकजाँचमा कडाइ, राति १० बजेसम्म चेकिङले दुर्घटनामा कमी आएको हुनसक्ने बताए ।नागरिक तथा चालकलाई सवारी नियमबारे सचेत गराउनु नै दुर्घटना न्युनिकरण हुने उनले बताए । सडक चौडा हुनु, सडकहरूमा रेखा, ट्राफिक चिन्ह हुनु, जेब्राक्रसिङ बिजुली स्ट्रिट लाइट हुनु पनि दुर्घटना घट्ने उनले बताए । जिम्मेवारी सम्हालेका इन्स्पेक्टर जोहारीले करिब १ हजार ४ सय भन्दा बढी सवारी साधनका चालकहरूलाई सचेतना कक्षा दिइसकेका छन् । हाल राजश्व संकलनमा पनि वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।


