कैलाली। लगातार वर्षाका कारण महाकाली नदीको जलस्तर चेतावनी बिन्दु नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा दार्चुला र आसपासका क्षेत्रमा भइरहेको वर्षाका कारण महाकाली नदीको जलस्तर चेतावनी बिन्दु नजिक पुगेको हो।
जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन प्रणालीका अनुसार मंगलबार दिउँसोसम्म डडेल्धुराको परिगाउँमा महाकालीको जलस्तर ५.७७ मिटर पुगेको छ। सो केन्द्रमा ५.८ मिटरलाई चेतावनी बिन्दु मानिन्छ ।
परिगाउँमा जलस्तर ७.० मिटर पुगेमा खतराको बिन्दु मानिन्छ। विगत २४ घण्टामा दार्चुलामा ३४.२ मिलिमिटर वर्षा भएको छ । बैतडी र डडेल्धुरा भने छिटपुट मात्रै वर्षा छ। वर्षाका कारण महाकाली नदीको सहायक नदी चमेलियामा ३.६५ मिटर जलस्तर छ जुन चेतावनी बिन्दुभन्दा कम हो । रंगुन नदीमा जलस्तर सामान्य छ भने सुर्नया नदीमा जलस्तर बढिरहेको विभागको बाढी पूर्वानुमान प्रणालीले जनाएको छ ।