धनगढी। सरकारले तोकेका निःशुल्क औषधि नागरिकले पाइरहेका छैनन्।सरकारले निःशुल्क उपलब्ध गराउने भनेका औषधि १.३ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै पाइने गरेका छन् । तर पनी प्रदेशका स्वास्थ्य संस्थामा उपलब्धता भने देखीएको छैन् ।
जब कि नागरिकलाई निःशुल्क उपलब्ध गराउने भन्दै बर्सेनि ढुकुटीबाट डेढ अर्बभन्दा धेरै रकम खर्च हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले नै गरेको नेपाल हेल्थ फेसिलिटी सर्भे, २०२१ ले आधारभूत सेवाअन्तर्गत अत्यावश्यकतर्फ राखेका औषधि अत्यन्त न्यून स्वास्थ्य संस्थामा मात्रै पाइने गरेको देखाएको हो। त्यसअघि सन् २०१५ मा गरिएको यस्तो सर्भेमा अत्यावश्यक औषधिको उपलब्धता स्वास्थ्य संस्थामा ०.८ प्रतिशत मात्र थियो । जुन २०२१ को सर्वेक्षणमा ०.५ प्रतिशतले बढेको देखिन्छ ।
निःशुल्क वितरण गरिने अत्यावश्यक औषधि ९८ वटा भए पनि स्वास्थ्य संस्थामा प्रतिनिधिमूलक १८ वटा औषधिको उपलब्धताका आधारमा २०२१ को सर्वेक्षण गरिएको थियो । जसमा ती औषधिको उपलब्धता न्यून देखिएको थियो । अध्ययनमा १८ वटा औषधिलाई रिजल्ट मोनिटरिङ इन्डिकेटरका रूपमा प्रयोग गरिएको थियो, जसले हाल निःशुल्क दिने गरिएका औषधिको उपलब्धता मापन गर्छ ।सर्भेअनुसार प्रदेशहरूका बढीमा २.३ प्रतिशत स्वास्थ्य संस्थाले मात्र सबै अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइरहेका छन्। सबैभन्दा बढी सुदूरपश्चिमका २.३ प्रतिशत स्वास्थ्य संस्थाले अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइरहेका हुन् ।
त्यस्तै, बागमतीमा २.२, कर्णालीमा २.०, मधेसमा १.७, गण्डकीमा ०.७, लुम्बिनीमा ०.४ र कोसीमा ०.२ प्रतिशत स्वास्थ्य संस्थामा निःशुल्क सबै औषधि उपलब्ध छन् । यसबाहेक विपन्न स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क पाउनुपर्ने औषधिसमेत सरकारी स्वास्थ्य संस्थामध्ये १.२ प्रतिशत र निजीमध्ये २.९ प्रतिशतले मात्रै दिइरहेको सर्भेको तथ्यांक छ। अत्यावश्यक औषधिको उपलब्धता ठूला सरकारी र निजी अस्पतालमा समेत न्यून रहेको पाइएको हो ।यता सुदुरपश्चिमको सुगम मानिने कैलाली जिल्लाका स्वास्थ्य संस्थामा सरकारले तोकेका निःशुल्कमध्ये अधिकांश औषधि पाइँदैन । स्वास्थ्य संस्थाले उपचारका लागि पुग्ने बिरामीलाई कतिपय औषधि नभएपछि औषधिविनै पठाउने गरेका छन् ।
कैलालीको पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको सुगरखाल स्वास्थ्य चौकीमा सरकारले निःशुल्क तोकेकामध्ये करिब २२ प्रकारका औषधि मात्र उपलब्ध छन् । कतिपय आवश्यक औषधि नभएपछि बिरामीलाई अन्यत्रबाट लिन भन्ने गरेको स्वास्थ्य चौकी प्रमुख जयानन्द जैसीले बताए । ‘सात–आठ दिनअघिसम्म औषधि सकिएर १०–१२ प्रकारका मात्र थिए । बर्खामा समस्या हुन्छ भनेर गाउँपालिकालाई आग्रह गरेपछि केही औषधि थपिएका हुन्, ‘बढी खपत हुने केही औषधि छन्, निःशुल्क तोकेका सबै औषधि कहिल्यै हुँदैनन् उनले भने।’ सुगरखाल स्वास्थ्य चौकीमा दैनिक ८० देखि सयजनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । विकट क्षेत्र भएकाले मेडिकलमा समेत सबै औषधि नपाइने जैसी बताउँछन् ।जिल्लाकै दुर्गम पण्डौन स्वास्थ्य चौकीमा पनि सरकारले निःशुल्क तोकेकामध्ये अधिकांश औषधि छैनन् । कतिपय औषधि बिरामीले स्थानीय मेडिकलबाट किन्ने गरेका छन् ।