काठमाडौं । जिल्ला अदालत, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् ।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको हो ।
ब्यूरोका एसएसपी दिनेश आचार्यले तुलाधारलाई अदालतबाटै नियन्त्रणमा लिइएको पुष्टि गरे । आचार्यका अनुसार, उनको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा गएको देखिएको थियो । हाल प्रहरी हिरासतमा रहेका मीनबहादुर गुरुङसहित अन्य केही व्यक्तिमार्फत बालुवाटारको जग्गा उनको नाममा गएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असुली गरेको आरोपमा तुलाधरलाई २८ असारमा पक्राउ गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो । त्यसबेला तुलाधरलाई फरार प्रतिवादीका रुपमा मुद्दा पेश गरिएको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, शरणार्थी प्रकरणबारे अनुसन्धान सुरु भएलगत्तै उनी भारत भागेका थिए । हालै नेपाल छिरेको थाहा भएपछि प्रहरीले उनलाई सानो भर्याङबाट नियन्त्रणमा लिएर अदालत पेश गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी बताउँछन् । शरणार्थी प्रकरणको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् ।