दार्चुला। दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। दार्चुलाको नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन्।
मेलामा घाँस काट्ने क्रममा शुक्रबार भीरबाट खसेको ढुंगा टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। मृतक सीताका आफन्त दिपकसिंह ठगुन्नाका अनुसार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लागेको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् ।दार्चुलाका ग्रामीण भेगहरुमा घाँस काट्ने क्रममा भीरबाट लडेर वर्षेनि धेरै मानिसहरुको अकालमै ज्यान जाने गरेको छ ।