काठमाण्डौ। भारतमा टमाटरको भाउ आकासिएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले उत्पादन र सप्लाई बन्द भएपछि टमाटरको मूल्य बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार भारतको चण्डीगढमा टमाटरको मूल्य प्रतिकिलो ३५० भारु पुगेको छ । यस्को नेपाली रुपैयाँ ५६० हुन्छ ।
यस्तै दिल्लीमा २५० भारुमा टमाटर बिक्री भइरहेको आजतकले जनाएको छ। देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको समाचारमा उल्लेख छ । टमाटरको मूल्य आकासिँदै गएपछि सरकारले घटाउनेतर्फ योजना बनाउन थालेको छ। केही ठाउँमा सरकारी समन्वयमा बजार भाउभन्दा सस्तोमा टमाटर बिक्री गरिएको समाचारमा उल्लेख छ । भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघले ९० भारुमा टमाटर बेच्न थालेको छ । कतिपय ठाउँमा मोबाइल भ्यानमार्फत् सरकारी समन्वयमा टमाटर बेच्न थालिएको छ ।