कञ्चनपुर। कञ्चनपुरमा महिलाको कान काटेर गहना र नगद लुट्ने लुटेरा पक्राउ परेको छ। जिल्लाको बेलडाडी गाउँपालिका ५ बरमेली टोल बस्ने मिना राना मगरको घरमा गएर कानका गहना र नगद लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सोही गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षीय रामबहादुर रानालाई पक्राउ गरेको हो। शुक्रबार राति गहना र नगद ५० हजार चोरेर भाग्दै गरेका उनलाई स्थानियले घेरा हालेर पक्राउ गरेको प्रहरीले जनाएको छ। रानालाई समातेर स्थानियले प्रहरीलाई खबर गरेका थिए।
रामबहादुरले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेकोले गएराति सोधपुछ गर्न नसकिएको हुँदा आज घटनाको विषयमा थप अनुसन्धान हुने इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ।