धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ८ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलहरूबीच बजेटका विषयमा एकमत नहुँदा बैठक सारिएको हो।
आज बिहानको बैठकमा सत्तापक्ष दललाई नै बजेटमाथि सहमतिमा ल्याउन नसक्दा र एकमत नहुँदा बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि सारिएको सभामुख भीमबहादुर भण्डारीले बताए। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमाथि प्रदेशसभाको आज शनिबारको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ।
बैठक अपराह्न साढे तीन बजेट आह्वान गरिएको छ। त्यसअघि सरकार र सत्ता साझेदार दलका नेताहरुबीच निर्णायक छलफल हुँदैछ। केही सांसदहरुले बोल्ने क्रममा बाँकी रहेकाले नबोलेका सांसदहरुको मन्तव्यपछि आजै बस्ने दोस्रो बैठकमा बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्ता साझेदार दलहरू नै असन्तुष्ट रहेका छन् ।
कांग्रेस बाहेकका सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संशोधन नगरी बजेट पास हुन नदिने अडान लिएका छन्। बैठकमा यसअघि बोल्ने सत्तारुढ दलका अधिकांश सांसदहरु बजेटमा असन्तुष्टि व्यक्त गर्दै बजेट पारित गर्न नसकिने भनिरहेका छन्। तर सरकार भने अन्ततः बजेट पारित गराउने तयारीमा लागेको छ। सांसदहरुका असन्तुष्टि चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले साझेदार दलका नेताहरुसँग औपचारिक अनौपचारिक बैठकहरु बढाएका छन्।असन्तुष्ट सत्तारुढ दलसँग पुनः छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको छ।असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०र०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरेका थिए। असार अन्तिमतिर पुग्दासम्म बजेट पारित हुन सकेको छैन।