कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागुऔषधसहित पक्राउ परेका हुन्।
पुनर्वास नगरपालिका– १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित वडा नम्बर ४ का स्थानीय असिम थापा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज नरेशराज मल्लले पुनर्वास नगरपालिका-को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।
इन्चार्ज मल्लका अनुसार कर्मचारी बडू र थापाको साथबाट पाँच सय ४१ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ। शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागुऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्। कर्मचारी नै लागुऔषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका छन्।