धनगढी। कैलाली जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ। बुधवार औपचारिक कार्यक्रम गरेर कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले नियमित खोपको सुदृढीकरण गरी राष्ट्रिय खोप तालिका अनुसार प्रदान गरिने सबै खोपहरू सबै बालबालिकाहरूले पूर्ण रुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए। कैलालीका १२६ वडा र १३ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा पश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो।
वि.स.२०३४ देखि विफर उन्मुलन भए पश्चात् नेपालमा खोप कार्यक्रम विस्तारित खोप कार्यक्रम सञ्चालित भएको थियो। नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोग विरुद्ध तथा गर्भवती महिलाका लागि टीटी खोप लगाउने गरिएको छ। कैलाली जिल्लालाई सर्वप्रथम २०७४ मंसिर २६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।
२०७९ असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो। यो वर्ष असार २६ सम्म सबै पालिका र बुधवार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरू, सबै बालबालिकाले पूर्ण रुपमा लिएको भन्ने बुझिन्छ। पूर्ण खोप अन्तर्गत पछि तालिकामा अन्य खोपहरू थप भएमा सोसमेत लिएको हुनुपर्छ। हाल पूर्ण खोप सुनिश्चितताको लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरका बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ।