काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो।बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।
पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई छोरीहरुले सीता दाहाललाई दागबत्ती दिएका छन् । बुधबार पशुपति आर्यघाटमा दुई छोरी गंगा र रेणुसँगै प्रधानमन्त्री दाहालले पत्नी सीतालाई दागबत्ती दिएका हुन्।दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।
उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए। शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।