धनगढी। कैलालीको गोदावरी नगरपालिकास्थीत सामुदायिक वनहरुमा फडानी भएकोे पाइएको छ। कैलालीको चुरे क्षेत्रसँग जोडिएको गोदावरी नगरपालिका-१२ मा पर्ने रातोपानी सामुदायिक वनमा व्यापक फडानी भइरहेको पाइएको हो।
उक्त सामुदायिक वनभित्रै करिब सयको संख्यामा सालका हरिया र सुकेका रुख काटेर चिरान गरेको भेटिएको बताइएको छ । वन फडानी गरी तस्करी गर्दै गरेको अवस्थामा स्थानीयले दुइ जनालाई पक्राउ गरेका छन्। सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा व्यापक वन फडानी भइरहेको स्थानीयको भनाई छ।
ठुलो परिमाणमा काठ तस्करी भएपनि १५० क्यूफिट काठ मात्रै बरामद भएको देखाएर मुख्य तस्करलाई वनका अध्यक्ष र कर्मचारीको मिलेमतोमा बचाउने काम भएको स्थानीयकोे आरोप छ ।यता ईलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले सामुदायिक वनका अध्यक्ष कैलाश विकका भाई कर्णहादुर विक र स्थानीय टेकराज ओझा वन फडानीमा संलग्न रहेको भन्दै वन मुद्दा परेको बताए । दुबै जनालाई पक्राउ समेत गरिएको बताए।
उनले सो क्षेत्रमा १ सय ९० क्यूफिट काठ बरामद भएको र ठुलो मात्रामा सालको रुख कटानी भएको बताए । करिब १०० को संख्यामा सालका रुख काटिएको बताउँदै तस्करहरूले वनभित्रै चिरान गरेर काठ मिलहरुमा काठ बेच्ने गरेको पाइएको स्थानियको भनाई छ । उनीहरुले क्षेत्रमा वन फडानीसँगै बँदेल, चित्तल लगायतका वन्यजन्तुसमेत सिकार हुने गरेको बताएका छन् । सामुदायिक वनका अध्यक्ष कैलाश विककै संलग्नतामा वन फडानीसँग चोरी तस्करी हुने गरेको स्थानियको आरोप छ ।