काठमाडौं। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ। त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो।
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेको छ। महासचिव देवप्रसाद गुरुङले बुधबार विज्ञप्ति जारी गरी सीताको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन्।
‘उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ आफ्ना योगदानमार्फत चीर कालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’


