धनगढी। सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा खर्च गर्न नसक्दा १० अर्बभन्दा बढी बजेट फ्रिज भएको छ। सुदूरपश्चिमको प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले यस चालु आर्थिक वर्ष कूल बजेटको ६८.८४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।
चालु र पुँजीगत दुबैका लागि प्रदेश सरकारले ३५ अर्ब ८० करोड ७ सय ५६ रुपैयाँको बजेट पारित गराएको भएपनि १२ महिनामा जम्मा २४ अर्ब १५ करोड १ सय ८५ रुपैयाँ मात्र खर्च भएको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये सबैभन्दा धेरै स्थानीय तहहरुले ९१.१७ प्रतिशत खर्च गरेका छन्। स्थानीय तहले पनि १३ करोड ५६ लाख ८ हजार रुपैयाँ खर्च गर्न नसकी फ्रिज गराएका छन् ।
प्रदेश सरकारले स्थानीय तहरुलाई १ अर्ब ४७ करोड ८४ लाख ५० हजार बजेट दिएकोमा तिनले १ अर्ब ३४ करोड ७८ लाख २२ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेका छन् । सबैभन्दा धेरै बजेट फ्रिज गर्ने प्रदेश निकाय प्रदेशसभा बनेको छ । प्रदेशसभाले कूल बजेटको जम्मा ४६.१४ प्रतिशत खर्च गर्न सकेको छ। प्रदेशसभाले १६ करोड ६८ लाख ६७ हजार रुपैयाँ फ्रिज गराएको हो ।प्रदेश सरकारले चालुतर्फ विनियोजन गरेको बजेट पनि सन्तोषजनक रुपमा खर्च हुन सकेन। चालुतर्फको कूल बजेटको ६८.१४ प्रतिशत मात्रै खर्च हुँदा ३ अर्ब ८९ करोड ८५ लाख ४ हजार रुपैयाँ फ्रिज गएको छ । पुँजीगततर्फ ७ अर्ब ३२ करोड ७ हजार रुपैयाँ फ्रिज गएको छ । पुँजीगततर्फको कूल बजेटमध्ये जम्मा ६९.२२ प्रतिशत बजेट मात्रै खर्च हुन सकेको हो ।
यस्तै प्रदेश सरकारका विकास सम्बन्धी मुख्य मन्त्रालयले नै ठूलो रकम फ्रिज गराएका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले विनियोजित कूल बजेटमध्ये ७३.६२ प्रतिशत खर्च गर्दा ४ अर्ब ४५ करोड ३३ लाख ५४ हजार रुपैयाँ फ्रिज गराएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६४ करोड ४ लाख ६९ हजार रुपैयाँ फ्रिज गराएको छ । सो मन्त्रालयले कूल बजेटको ७७.६७ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आफूले पाएको बजेटमध्ये ७५ .८३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सो मन्त्रालयको ६ करोड ३४ लाख ५७ हजार ७ सय रुपैयाँ फ्रिज गएको छ। मन्त्रालयहरुमध्ये आर्थिक मामिला तथा मन्त्रालयले सबैभन्दा कम बजेट खर्च गरेको छ । सो मन्त्रालयले ४७.३० प्रतिशत मात्रै बजेट खर्च गर्दा १४ करोड २२ हजार ४ सय रुपैयाँ फ्रिज गएको छ।