कैलाली। सुदुरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथी छलफलका क्रममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट स्वार्थमुखी भएको बताए। प्रदेशसभा बैठकमा बोल्दै नेता रावलले प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्षको बजेट छलफलमा उनले सो कुरा बताएका हुन्।
रावलले बजेट स्वार्थमुखी भएको टिप्पणी गरे। उनले सांसद विकास कोष लागू गरेर जनविरोधी काम गरेको आरोप लगाए। रावलले भने, ‘यो बजेटले देश र प्रदेशको जीवन रक्षा गर्न सक्दैन। सरकारले नीतिगतभन्दा पनि नेतागत बजेट ल्यायो। ’ उनले सत्ता गठबन्धनले कुनै प्रगति गर्न नसकेको र बजेटले थप निराशा पैदा गरेको जिकिर गरे। भूकम्पपीडितहरूको समस्या सम्बोधन गर्न नसकेको, भूमिहीन, सुकुमबासी गरिब जनताको समस्यामा सम्बोधनमा सरकार मौन रहेको उनले आरोप लगाए। निवर्तमान मुख्यमन्त्रीसमेत रहेका रावलले प्रदेशको समृद्धि र विकासका लागि बजेट बाधक रहेको बताए ।