दार्चुला। अतिक्रमित नेपाली भूमि लिपुलेकको छेउछाउबाट तीर्थयात्रीहरूलाई पवित्र कैलाश मानसरोवरको दर्शन गराउने गृहकार्यमा भारत सरकार जुटेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश–मानसरोवर तीर्थस्थलसम्म नपुगेर सीमाक्षेत्रबाटै तीर्थयात्रीलाई दर्शन गराउनेगरी संरचना निर्माण भइरहेको छ।
कोभिड महामारीले अन्तर्राष्ट्रिय सिमानाका बन्द भएसँगै सन् २०२० देखि लिपुलेक भएर कैलाश–मानसरोवर यात्रा रोकिएको छ। भारत र चीनको सीमाक्षेत्रमा सैन्य तनावले दुई देशको सम्बन्ध बिग्रिँदा अहिलेसम्म कैलाश यात्रा सञ्चालनमा आएको छैन। लिम्पियाधुरा नजिक महाकाली पश्चिम (भारत)तर्फको आदि कैलाश पर्वत र अतिक्रमित नेपाली भूमिमा पर्ने ॐ पर्वतको पर्यटकीय प्रवद्र्धनमा भारत सरकार सक्रिय छ।
कैलाश–मानसरोवर यात्राको विकल्पमा गतवर्षदेखि आदि कैलाश र ॐ पर्वत दर्शन यात्रा शुरु गरिएको छ। तिब्बत भूमि प्रवेश नगरिकनै सीमाक्षेत्रबाट भ्यु प्वाइन्टमार्फत कैलाश–मानसरोवरको दर्शन गराउने तयारीमा भारत सरकार जुटेको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार मात्रै पिथौरागढ जिल्लाको लिपुपास (लिपुलेक) नजिकको क्षेत्रबाट शिवभक्तहरूले चाँडै कैलाश पर्वतको दर्शन गर्न सक्ने भन्दै ट्विट गरेका छन्। मुख्यमन्त्री धामीले भनेको पिथौरागढ जिल्लाको लिपुपास अतिक्रमित नेपाली भूमि हो।
दुई हप्ताअघि मात्रै उत्तराखण्ड पर्यटन परिषद्ले लिपुलेक आसपासबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने विन्दु पत्ता लगाउन एउटा अध्ययनटोली हिमालय क्षेत्रमा पठाएको थियो। परिषद्का सचिव एवं मुख्य विकास अधिकारी सचिन कुर्वेले कुमाउँ मण्डल विकास निगम, धारचुलाका उपजिल्लाअधिकारी (एसडिएम), राजश्व विभाग, सेना र जिल्ला पर्यटन विभागको संयुक्त टोलीलाई लिपुलेक क्षेत्रमा पठाएको भारतीय पत्रिका अमर उजाला दैनिकले छापेको छ। यो वर्ष पनि अहिलेसम्म १५ हजार यात्रुले उच्च हिमालय क्षेत्रको भ्रमण गरिसकेको भारतीय मिडियाले जनाएका छन् । नोटिफाइड एरिया (निषेधित क्षेत्र) बनाइएको यसक्षेत्रको भ्रमण भारतीय नागरिकले मात्रै गर्न पाउँछन्।