धनगढी। धनगढीमा नेपाल प्रहरीको प्रदेश मुख्यालयको भवन निर्माण भएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदेश सरकारको २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रुपैयाँ लागतमा निर्माण गरिएको हो।
भवनको सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन्। आन्तरिक मामिला मन्त्रालयसँगको सम्झौताअनुसार कुमार जेभीले निर्माण गरेको भवनको औपचारिक कार्यक्रमकाबीच मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन्। नव निर्मित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय परिसरमा विभिन्न ८ वटा भवन निर्माण गरिएका छन्।
एउटा कार्यालय भवन, ४ वटा निवास भवन, २ वटा ब्यारेक र एक मेस भवन रहेका छन्। नव निर्मित कार्यालय भवनको भुई तलामा प्रहरी वरिष्ठ उपरीक्षक कक्ष, मानवस्रोत तथा व्यवस्थापन शाखा, कर्मचारी प्रशासन शाखा, तालिम शाखा, प्रवन्ध तथा भण्डार शाखा, प्रशासन शाखा, कल्याण तथा बजेट शाखा, कार्यदल शाखा, ट्राफिक शाखा, कार्य शाखा प्रमुख कक्ष एवम् महिला तथा पुरुष शौचालय रहेका छन्।
नव निर्मित प्रदेश प्रहरी कार्यालयको दोस्रो तलामा साइवर व्युरो शाखा, कम्प्युटर शाखा, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो रहेका छन्। प्रदेश प्रहरी कार्यालय भवन भूकम्पीय जोखिमबाट न्यूनीकरण गर्न दुई वटा सिस्मिक ग्याप राखी तीन वटा ब्लकमा विभाजन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।