काठमाण्डौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तक विमोचनको बेला आफू देशको प्रधानमन्त्री भएर नभई जेठी छोरी ज्ञानुको बुवा भएर बोलेको स्पष्टिकरण दिएका छन्।
आइतबार प्रतिनिधि सभामा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले असार १८ गतेको पुस्तक विमोचन कार्यक्रममा ११ वर्षअघिको घटनालाई सम्झेर भावुक भएको र सोही अनुसारको अभिव्यक्ति आएको बताएका हुन्।तर आफूले त्यो नबोल्नुपर्ने पछि महशुस भएको पनि उनले बताए। ‘प्रधानमन्त्रीको हैसियतले त्यो नबोल्नुपर्ने थियो । त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, ज्ञानुको बुवा भएर बोलेँ,’ उनले भने।
असार १८ गतेको पुस्तक विमोचनमा कार्यक्रममा ०६८/०६९ सालको घटनाको स्मरण हुँदा आफूबाट त्यस्तो अभिव्यक्ति आएको पनि बताए।प्रधानमन्त्री प्रचण्डका अनुसार, त्यतिबेला जेठी छोरी ज्ञानु दाहालको अवस्था अत्यन्त गम्भीर थियो।उनलाई उपचारका लागि दिल्ली लगिएको थियो। छोरा प्रकाश दाहाल र प्रितम सिंहको आफन्तको घनिष्ट सम्बन्ध भएकाले उनकै आग्रहमा छोरीलाई दिल्लीस्थित प्रितम सिंहकै घरमा राखेर उपचार गरिएको थियो।
त्यतिबेला नै प्रितम सिंहले आफूलाई नेपालको प्रधानमन्त्री बन्नुपर्ने व्यक्ति भनेको र उनको भनाइमा त्यतिबेलै सदासयता व्यक्त मात्रै गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। १८ गतेको पुस्तक विमोचनमा पनि सोही कुरा स्मरणबाहेक अरू नभनिएको उनले बताए। उनले आफू अलि बढी भावनात्मक भएको पनि स्वीकारे। ‘यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के। थोरै भावनामा आएँ। त्यो कुरा नभनेको भए हुन्थ्यो। जरूरी थिएन । मनमा आयो भने। के राष्ट्रप्रति नै घात गर्ने कुरा हो त ?,’ उनले भने।