धनगढी : सुदूरपश्चिम प्रदेश सरकार बजेटकै कारण संकटमा परेको छ । सत्तामै रहेका दलहरुले बजेट पास नगर्ने निर्णय गरेपछि सरकार संकटमा परेको हो । सोमबार धनगढीमा सत्तारुढ ३ दलको संयुक्त बैठकले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरेका छन् । काग्रेंस बाहेकका अन्य ३ सत्तारुढ दलले यस्तै अवस्थामा बजेट पास नगर्ने निर्णय गरेका हुन् ।
सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय दलको संयुक्त बैठकले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसक्ने निर्णय गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको जानकारी दिए ।
आफूहरुसँग भएको छलफल र सुझावलाई बेवास्ता गरिएको, प्रदेशसभा सदस्य र जनताको भावना, प्रदेशको आवश्यकता तथा औचित्य विपरीत बजेट आएको तीन दलको निष्कर्ष छ । ‘बजेटमा विषयगत सन्तुलन नभएको र राजनीतिक नेतृत्व मुकदर्शक भएको अनुभूति भएको छ । तसर्थ समयमै बजेट सन्तुलित बनाउन जनता र जनप्रतिनिधिको भावना समेटेर समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन संशोधन प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारलाई आग्रह गर्दछौं’ तीन दलको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बजेट संशोधन र समझदारी नभएको यथाअवस्थामा बजेटलाई समर्थन गर्न नसकिने निर्णय गरियो ।’
बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, प्रमुख सचेतक मानबहादुर धामी, नाउपा संसदीय दलका नेता चौधरी, प्रमुख सचेतक कैलाश चौधरी र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी र प्रमुख सचेतक प्रकाश रावल सहभागी थिए ।