धनगढी। सुदूरपश्चिम प्रदेश सभाले मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा निधन भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पेस गरिएको हो।
सवारी दुर्घटनामा परी निधन भएका मन्त्री सिंहप्रति प्रदेश सभाको दोस्रो अधिवेशनको १५ औं बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए ।
सोमबार अपराह्न ४ बजे बसेको बैठकले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै २ मिनेट मौन धारण गरेको थियो। बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जानेक्रममा सवारी दुर्घटनामा परी उनीसहित ३ जनाको निधन भएको थियो। असार १ गते बजेट प्रस्तुत गरिएपछि आज २५ दिनपछि प्रदेश सभाको बैठक बसेको हो ।बजेटमाथिको छलफल भने कार्यसूूचीमा परेको छैन । प्रदेशसभा सचिवालयकाअनुसार मंगलबारदेखि बजेटमाथिको छलफल हुनेछ ।