कञ्चनपुर। कञ्चनपुरका भ्रष्टाचार सम्बन्धी पाँच मुद्दा आज विशेष अदालतको पेशीमा चढेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने विशेष अदालतले पाँचवटै मुद्दालाई प्राथमिकतामा राखेको छ।
आज सोमबार विशेष अदालतमा तत्कालिन मेहन्द्रनगर नगर विकास समितको जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरेको ४ वटा र प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी एउटा मुद्दामा सुनुवाई हुने भएको हो। विशेष अदालतको दैनिक पेशी सूचिका अनुसार नगर विकास समितिको जग्गा गैरकानुनी तरिकाले व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मुद्दा खेपिरहेका समितिका तत्कालिन अध्यक्ष कान्तुराम पनेरुसहितका २२ जना र तत्कालिन अध्यक्ष पल्टु रानासमेतका २५ जनाविरुद्धको मुद्दा फाँट ‘क’ मा परेको छ ।
ती मुद्दा विशेषका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्यद्वय न्यायाधीश बलभद्र वास्तोला र डा. न्यायाधीश खुसीप्रसाद थारुको इजलासमा तोकिएको छ।त्यस्तै, समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली समेतका ३७ जना र रसाइलीलगायतका अन्य ५२ जनाविरुद्धका दुई मुद्दा पनि फाँटविरुद्धको मुद्दा पनि फाँट ‘क’मै सुनुवाई हुने छ । ती मुद्दा पनि विशेषका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्यद्वय न्यायाधीश बलभद्र वास्तोला र डा. न्यायाधीश खुसीप्रसाद थारुको इजलासमा तोकिएको छ ।
प्रधानमन्त्री कृषि आयोजना धान जोनमा भएको भ्रष्टाचारमा मुद्दा खेपिरहेका दशरथ भण्डारी समेतका चार जनाविरुद्धको मुद्दा भने फाँट ‘ख’मा सुनुवाई हुने भएको छ। सो मुद्दा अदालतका सदस्य न्यायाधीश यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासमा परेको छ । धान जोनका प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, धान जोन सञ्चालक समितिका संयोजक दशरथ भण्डारी, महाकाली सिँचाइ आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलर र दिनेश मोटर्स प्रा.लि.का सञ्चालक राजिव हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं २ र १९ तथा कृष्णपुर नगरपालिकाको वडा नं ६ मा आव ०७३/७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापना गर्न समितिमा निकासा भएको रकम किसानसँग छलफल नै नगरी आफूखुशी सामान खरिद गरी आर्थिक अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो।