धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि शुरु हुने भएको छ। असार १ गते आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले प्रस्तुत गरेको बजेटपछि अहिले सम्म बस्न नसकेको बैठक आज पहिलो पटक बस्न लागेको हो।
प्रदेश सभा बैठक आज दिउसो ४ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। असार १ गते बसेको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । सरकारले प्रदेश सभालाई विजनेस नदिनु र वार्षिक कार्यक्रम (रातो किताव)माथि सत्तापक्ष र प्रतिपक्षी दलहरुको असन्तुष्टिका कारण बैठक सञ्चालन हुन सकेको थिएन् ।
साउन १ गतेभित्र बजेट पारित गरिसक्नु पर्ने कानुनी प्रावधान अनुसार सरकारले बजेटमाथिको छलफल भोलीदेखि सुरु गर्ने तयारी गरेको छ । सोमबार विहान बसेको कार्य परामर्श समितिले आज बैठक शुरु गरेपनि बजेटमाथिको छलफल अघि नबढाउने निर्णय गरेको छ ।आजको बैठकमा असार ५ गते दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्रीको घटना प्रति शोक प्रस्ताव पारित गरिने छ । त्यस लगत्तै बैठक सकिने छ।
प्रदेशका सभामुख भीमबहादुर भण्डारीले भने –‘कार्य परामर्श समितिको बैठकले आज बस्ने प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पेश गरि पारित गर्ने कार्यसूचि तय भएको छ । भोलीदेखि बजेटमाथिको छलफल अघि बढ्ने छ ।’असार १ गते प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए । मन्त्री शाहीले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए ।


