धनगढी। कैलारी गाउँपालिका–७ का २७ आगलागीपीडित मुक्तकमैयाका परिवार नयाँ घर पाएपछि खुसी भएका छन् । गत वर्ष वैशाख ११ मा कैलारी गाउँपालिका–७ विपतपुरमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएपछि मुक्तकमैयाहरु एक वर्षदेखि अलपत्र तथा झुपडीमा बस्दै आएका थिए।
नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसोे हावा चलेका वेला बस्तीमा सल्केको थियो । घरसहित लुगाकपडा र बालबालिकाका कापी–किताब समेत जोगाउन नपाएको आगलागीपीडित तेजराम चौधरीले बताए । उनले घर जलेर खरानी भएपछि दुई महिना खेतमा टेन्ट लगाएर बस्यौँ । बर्खामा डुबान हुने भएकाले खेतमा बस्न सम्भव थिएन । जलेकै घरमाथि छाप्रा बनाएर बसेको उनले बताए । अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर बनाइदिएका छन्।
मुक्तकमैया बस्तीमा आगलागीपीडितका लागि दुईवटा कोठा र एउटा भान्सा भएको र टिनले छाएका २७ वटा पक्की घर निर्माण गरिएका छन्। यस्तै कैलारी गाउँपालिका– ७, विपतपुरका राजकुमार चौधरी पक्की घर निर्माणको काम हालै सम्पन्न भएपछि नयाँ घरमा सरिसकेका छन् । एक वर्षदेखि पाँचजनाको परिवारसहित कच्ची झुप्रोमा बसिरहेका उनी नयाँ पक्की घर पाएपछि खुसी देखीन्छन् । सुरुमा
दुई महिनासम्म खेतमा त्रिपाल टाँगेर बसेका उनले बर्खामा त्रिपालमै बस्न सम्भव मानेनन् ।
त्यसपछि नयाँ घर बनाउन पैसा नभएपछि आगलागीले जलेको टिनले छाएर उनले पुरानै घरको छेउमा झुप्रो बनाएका थिए । नयाँ घरमा बस्न पाएपछि निकै सहज भएको र अब बर्खामा सर्प–किराको डर नहुने बताए । यस्तै आगलागी पीडित बेलमती चौधरीले झुपडीको समस्या हटे पनि ठूलो परिवार भएकाका लागि दुईकोठे घर अपुग हुने बताइन् । कैलारी गाउँपालिकाले २७ आगलागीपीडित मुक्तकमैया परिवारका लागि एक करोड ८२ लाख १२ हजार लागतमा नयाँ पक्की घर निर्माण गरिएको जनाएको छ ।
प्रदेश सरकारको ९० लाख र ह्याबिटेट फर ह्युमानिटी नेपाल नामक गैरसरकारी संस्थाकोे ५४ लाख लगानी र घर निर्माणमा लाभग्राही परिवारले ३८ लाख १२ हजार बराबरको श्रमदान गरेका थिए।
आगलागीपीडित मुक्तकमैयाको सुरक्षित घर निर्माण समितिका अध्यक्ष हरिप्रसाद चौधरीले सबै घरको निर्माण कार्य सकिएको र केही दिनमै घर हस्तान्तरण गरिने बताए । निकै समस्यामा रहेको र घर बनेपछि बस्न सजिलो भएको अग्निपीडितसमेत रहेका उनले बताए । आगलागीबाट करोडौँको क्षति भए पनि दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए ।
आगलागीलगत्तै तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी भएको बस्तीमा पुगेर पीडितलाई नयाँ बनाइदिने प्रतिबद्धता जनाएका थिए । त्यतिवेला म बस्तीमा पुग्दा पीडितको अवस्था निकै दयनीय देखेपछि घर निर्माण गरिदिने निर्णय गरेका थियौँ । मुख्यमन्त्री सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरिएको भट्टले भने। अहिले पीडितले नयाँ घर पाउँदा खुसी लागेको भट्टले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत प्रदेशको एकल र स्थानीय तहसँग साझेदारी गरी एक सय ४३ घर बनाइएका थिए । स्थानीय चुनावका वेला पीडितको बस्तीमा गएर आश्वासन दिएको भन्दै त्यसवेला मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो । विपन्न र पीडितका लागि घर बनाइदिन ल्याइएको मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा पूर्वमुख्यमन्त्री भट्टको गुनासो ब्यक्त गरेका छन् ।