धनगढी। कैलाली र कञ्चनपुरबाट एकैदिन लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। प्रहरी गस्ती टोलीले लागुऔषधसहित कैलालीबाट दुईजना र कञ्चनपुरबाट तीन गरी पाँच जना पक्राउ गरेको हो।
कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट ९८० मिलिग्राम लागुऔषधसहित टीकापुर नगरपालिका-१ का २८ वर्षीय बिनोद चौधरी र वडा नम्बर ३ का २६ वर्षीय लंक चौलागाई शुक्रबार राति पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले लागुऔषधसहित एक थान मोटरसाइकलपनी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट एक ग्राम लागुऔषधसहित थप तीन जना पक्राउ परेका छन्। शुक्रबार साँझ बेलौरी नगरपालिका-१० सडकघाटका २२ वर्षीय सुरज चौधरीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।