धनगढी। बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई तीन महिनाभित्र अन्तिम रूप दिन नेपाल–भारतबीच सहमति भएको छ । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी) को पोखरामा शुक्रबार सम्पन्न आठौं बैठकमा आयोजनाका काम अघि बढाउने सहमति भएको हो।
नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमतिपत्रमा हस्ताक्षर गरे ।प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणको अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर टुंगो लगाउने दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको थियो। उक्त सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न दुई देशका सचिवको सह–अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमति गरेको हो ।
आयोजनाको डीपीआरलाई तीन महिनाभित्र अन्तिम रूप दिन एवं उक्त प्रतिवेदनको कार्यान्वयनमा सघाउ पुर्याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट्सरअफिसियल) को म्याद ६ महिना थप गर्ने समेत सहमति भएको छ । सहमतिबमोजिम विज्ञ समूहको चौथौ बैठक आगामी १० दिनभित्र हुनेछ । पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका कार्यकारी समितिका सदस्यलाई प्राधिकरणको प्रमुख कार्यालय महेन्द्रनगरमा एक महिनाभित्र खटाउने सहमति भएको छ ।
सचिव घिमिरेका अनुसार विज्ञ टोलीको म्याद सकिइसकेको भए पनि ६ महिनाको कार्यादेश दिएर तीन महिनाभित्र डीपीआर टुंगो लगाउने गरी सहमति भएको हो ।यसअघि नेपाल र भारतबाट १५/१५ जनाको विज्ञ टोली थियो। अब भने १०/१० जना रहने छन् । उक्त सहमतिसँगै लामो समयदेखि रोकिएको पञ्चेश्वर आयोजनाको काम अब क्रमिक रूपमा सुरु भएको सचिव घिमिरेले बताए ।
विगत लामो समयदेखि महेन्द्रनगरस्थित पञ्चेश्वर विकास प्राधिकरण कार्यालयमा कर्मचारी नपठाएकै कारण पञ्चेश्वरको काम हुन नसकेको मनन गरी दुवै पक्षले यी जूलाई (साउन १५ गते) भित्र स्थायी रूपमा कर्मचारी, प्राविधिक परिचालन गर्ने पनि सहमति भएको छ। भारतीय प्रधानमन्त्रीले नै तीन महिनाभित्र डीपीआर टुंगो लगाउने उद्घोष गरेबमोजिम उसले नियामक मण्डलको बैठकमा सहभागिता जनाएको हो। बैठकमा भारतीय पक्षको नेतृत्व जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले गरेका थिए। बैठक हिजो बिहीबार पोखरामा सुरु भएको थियो।