धनगढी। सुदूरपश्चिम प्रदेशको कला,संस्कृति र पर्यटन प्रबद्र्धन गर्नका लागि पर्यटन व्यवसायी तथा सर्जक तपेन्द्र रावलले ‘है जिरा फूल्याको छै क्या ?, सुदूरपश्चिम आया है क्या’ देउडा गीतको सिर्जना गरेका छन् ।
सुदूरपश्चिममा धेरै पर्यटकीय क्षेत्र भएपनि प्रचार प्रसारमा भने कमी भएको गीतका सर्जक रावलले बताए । उनले भने ‘हाम्रो सुदूरपश्चिम प्रदेशमा धेरै पर्यटकीय क्षेत्रहरु छन् तर त्यसको प्रचार प्रसारमा कमी छ,सबै पर्यटकीय क्षेत्रलाई समेटेर है जिरा गीतको सिर्जना गरिएको छ’।ज्ञान भूमि,तपोभूमि खप्तड‘है जिरा फूल्याको छै क्या रु,खेलौला डेउडा तप्पड‘खप्तडमा आइ जाया है क्या भनेर गीतमा पर्यटकीय क्षेत्रमा घुम्न निम्तो पनि गरिएको छ । गीतमा अछामको रामारोशन, बाजुराको बडिमालिका,बझाङको शैपाल, डडेल्धुराको उग्रतारा,कैलालीको घोडाघोडी,कञ्चनपुरको बेदकोटलगायत सुदूरपश्चिमका सबै पयर्टकीय क्षेत्रलाई समेटेको उनले बताए ।
गीतको भिडियो छायांकन भइसकेको र आर्थिक अभावका कारण पूरा हुन नसकेको उनले बताए । उनले भने ‘गीतको भिडियो छायांकन लगभग सकिएको छ, आर्थिक अभावले पूर्णता पाउन सकेको छैन् त्यसैले भिडियो सार्वजनिक गर्नमा ढिलाइ भएको छ ।’गीतको रेकडिङ तथा भिडियो छायांकनमा करिब ३० लाख खर्च भएको र अझै ४ लाखसम्म लाग्ने र छिट्टै भिडियो सार्वजनिक गरिने बताइएको छ । उक्त गीतको भिडियो सुदूरपश्चिमका सबै पर्यटकीय स्थल र भारतको मुम्बईमा छायांकन गरिएको रावलले बताए।
उक्त गीतमा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धनसँगै राज्यले विदेशी पर्यटकबाट बढी हवाई भाडा लिने गरेको र भाडा विदेशी वा स्वदेशी सबैलाई बराबर लगाउनु पर्ने कुरा पनि उठाइएको सर्जक रावल बताउँछन् ।सर्जक रावल र गौरी भट्टले गाएको उक्त गीत संस्कृत, नेपाली, थारु, डोटेली, हिन्दी र अंग्रेजी भाषामा रहेको जनाइएको छ । एक मिनेटको डायलग र १६ मिनेटको गीत रहेको रावलले बताए । त्यस्तै गीतको निर्देशन, लय र शब्द रावलको रहेको जनाइएको छ ।