धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रति सत्ता गठबन्धनकै सांसदहरूले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
सत्ता गठबन्धनका सांसदहरू केहि दिनदेखि काठमाडौंमा शीर्ष नेताहरूलाई भेटेर असार १ गतेको बजेट संशोधन नभए पारित गर्न नसकिने अडान राखिरहेका छन् । यस क्रममा आज कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरूले बजेट माथिको गुनासो राख्दै यथास्थितिमा बजेट पारित गर्न नसक्ने अवस्था रहेको बताएका हुन् ।
देउवा निवासमा करिब ३० मिनेट सम्म भएको छलफलमा माओवादी संसदीय दलका नेता खगराज भट्ट र सांसद शिवसिंह ओली, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण चौधरी थिए ।उपस्थित सबैले देउवालाई एकै स्वरमा सुदूरपश्चिम प्रदेशको बजेट संशोधन गर्नुपर्ने बताएका थिए । देउवालाई भेट्न पुगेका पाँचै जनाले बजेट माथिको गुनासो पोखेका थिए ।
देउवा सँगको भेटमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि थिए। उनले पनि यहाँका सांसदहरूको सबै गुनासो सुने । सबै सांसदहरूको गुनासो सुनेपछि देउवाले सुदूरपश्चिम प्रदेशको बजेट संशोधन गर्न लगाउने बताएका थिए । बजेट प्रति धेरै गुनासो आइरहेको छ कांग्रेसकै सांसदहरू पनि सन्तुष्ट छैनन् देउवाले भनेका थिए, पूरक बजेट ल्याउन लगाएर भएपनि तपाइहरूको माग सम्बोधन गर्न भन्छु । सुदूरपश्चिम प्रदेशका काङ्ग्रेसकै कमल शाह मुख्यमन्त्री छन्। शेरबहादुर देउवाले सांसदहरूको गुनासो सुनेपछि मुख्यमन्त्री शाहलाई फोन गरेका थिए ।
उनले मुख्यमन्त्रीलाई फोनमा बजेट प्रति तीव्र गुनासो आएको हुँदा पूरक बजेटको तयारी गर्न निर्देशन दिएका थिए। यहाँ कांग्रेस सांसदहरू पनि बजेट प्रति सन्तुष्ट छैनन्। १२ असारमा कांग्रेसकै ६ जना सांसदहरूले पनि भेटेर देउवालाई बजेट प्रति गुनासो पोखेका थिए। कांग्रेसका सांसदहरूले यस अघि नै बजेट प्रति गुनासो राखेको हुँदा आजको भेटमा कांग्रेसका सांसद गएका थिएनन्। यस अघि बजेटको गुनासो गर्न प्रधानमन्त्रीदेखि माधव कुमार नेपालसम्म पुगेका सभामुख भीम भण्डारी कैलाली फर्किएको हुँदा उनी पनि उपस्थित भएनन्।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको भ्रमणमा १३ गते कैलालीबाट निस्किएको टोलीले २० गते भ्रमण सकेर बजेट माथिको गुनासो पोख्न शीर्ष नेताहरूलाई काठमाडौँमा भेटघाट गरिरहेको छ। यसअघि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृह मन्त्री नारायकाजि श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई पनि यस टोलीले भेटघाट गरिसकेको छ। सभामुख घिमिरेबाहेक सबैसँग सांसदहरूले सुदूरपश्चिम प्रदेशको बजेट यथास्थितिमा पारित गर्न नसकिने गुनासो गरिरहेका छन्। देउवालाई भेटेपछि अब उनीहरु कैलाली फर्किने तयारीमा रहेका छन्।नेपालप्रेस