धनगढी। सुदूरपश्चिम प्रदेशका सत्तारुढ दलका सांसदहरु काठमाण्डौँमा शिर्ष तहका नेतासँग भेट गरिरहेका छन्। असार १ गते प्रदेससभामा प्रस्तुत गरिएको बजेटको रातो किताबमा सत्तारुढ दलकै सांसदहरु असन्तुष्ट ब्यक्त गर्दै आएका छन् ।
सत्तारुढ दलका कतिपय सांसदले मन्त्रीहरुले आ आफ्नो क्षेत्रलाई बजेट प्राथमिकता राखेपनी अन्य क्षेत्रका निती कार्यक्रम तथा बजेटमा नसमेटिएको भन्दै बजेट संसोधनको माग गरिरहेको छन् । उनीहरुले बजेटमा असन्तुष्ट जनाउँदै बजेट पारित हुन नदिने अडान राखेका छन् । बजेटका बिषयमा छलफल गर्नका लागी सभामुखसहित सत्तारुढ दलका नेताहरु काठमाण्डौँमा शिर्ष तहका नेतासँग भेट गरिरहेका छन् ।
बजेट संशोधनको माग राख्न कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु देउवा निवास पुगेका थिए । बुधबार सभामुख भीम बहादुर भण्डारी, माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बजेट यथास्थितिमा पारित गर्न नसकिने बताएका थिए ।
यस्तै कांग्रेसका मेघराज खड्का, शिवराज भट्ट, ललिता सुनार, माओवादी केन्द्रका शिव ओली र एमालेका चक्र मल्ल पनि उपस्थित रहेका थिए । अर्थ विकास तथा प्राकृतिक समितिको भ्रमणका क्रममा काठमाडौं पुगेको उक्त टोलीले प्रधानमन्त्रीलाई सुदूरपश्चिमको बजेटप्रति गुनासो राखेका थिए।मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्रीले बजेटमा मनोमानी गरेको कांग्रेसका एक जना सांसदले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले बजेट संशोधन गर्ने व्यवस्था नरहे पनि केही हेरफेर गर्न लगाउने आश्वासन दिएका थिए ।
प्रदेशसभा सदस्यहरुले माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतलाई भेटेर बजेट संशोधनको माग राखिसकेका छन्। यस्तै शुक्रबार उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको एक जना प्रदेशसभा सदस्यले बताए । सभापति देउवाले असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई पुरक बजेट ल्याएर माग सम्बोधन गरिने आश्वासन दिएको ती नेताले बताए । केही प्रदेशसभा सदस्यले गत १२ असारमा पनि सभापति देउवालाई भेटेर बजेट संशोधन गरिनुपर्ने बताएका थिए ।
प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको अन्तर प्रदेश भ्रमणका क्रममा यो टोली काठमाडौं भ्रमणको सिलसिलामा गएका बेला उहाँ(सांसद)हरु सँग शीर्ष नेताहरुसँग भेटघाट भएको हो । त्यही क्रममा बजेटका विषयमा पनि कुरा उठेको सभामुुख भीमबहादुर भण्डारीले बताए । सत्तारुढकै सांसदहरुकै असन्तुष्टिका कारण आर्थिक वर्ष सकिन हप्ता दिन समय बाँकी रहँदा बजेटमाथि छलफल शुरु हुन सकेको छैन । अर्थमन्त्री शाहीले असार १ गते प्रस्तुत गरेको २९ अर्ब २६ करोडको बजेटको आकार र कार्यक्रमप्रति सांसदहरुले असन्तुष्टि ब्यक्त गरेका हुन् ।
माओवादी प्रदेशसभा दलका नेता खगराज भट्टले सिंगो सदनको विश्वास लिएर बजेटको पक्षमा उभ्याउने वातावरण बनाउने काम सरकारको रहेको बताए । तर सरकारको भूमिकामा कमजोरी रहेको भन्दै पावर देखाउँदै दोहन गर्ने प्रवृत्ति सरकारमा देखिएको भन्दै यथास्थितिमा बजेट पारित हुन नदिने बताए । नागरिक उन्मुक्ति पार्टी दलका नेता घनश्याम चौधरी त अहिलेको बजेट संशोधन नभए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिए ।
उनले सरकार निर्माणमा हाम्रो पनि महत्वपूर्ण भूमिका भन्दै मन्त्रिपरिषद् विस्तारदेखि बजेटसम्म आइपुग्दा हामीलाई उपेक्षा गरिएको बताए । उनले बजेट संशोधनको माग गरे । एकीकृत समाजवादी प्रदेश दलका नेता दीर्घ सोडारी भने आकार घटाएर बजेट ल्याउनु नै कमजोरी भएको बताए ।सत्ता र प्रतिपक्ष दलका कोही माननीय पनि बजेटमा सन्तुष्ट नदेखीएकाले विषयबारे छलफल भइरहेको बताए । उनले प्रदेश सरकारले ३४ अर्बसम्मको बजेट ल्याउनुपर्ने अनुमान ब्यक्त गरे । सरकारको नेतृत्व गरिरहेको कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पनि बजेटप्रति असन्तुष्टि जनाएका छन् ।