काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशमलाल चौधरीबीच ठाकुरद्वारामा भेटवार्ता भएको छ ।भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बारे छलफल भएको हो। भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित, कैलाली क्षेत्र नम्बर ३ का सांसद गंगा चौधरी सहभागी रहेका थिए ।
रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।बुधबार सो पार्टीले प्रदेश सरकारमा सहभागी हुने र दलबाट मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिएका थिए। उनका अनुसार यही साता नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ। नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीले सामाजिक सञ्जालमा यही साता सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कुरा उल्लेख गरेका छन् ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गत जेठमा मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा नाउपा दुई वटा मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारमा सहभागी भएको थिएन। तर अब भने नाउपा एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जान तयार भएको स्रोतले जनाएको छ। उसले रिक्त रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ। नाउपाले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई सरकार पठाउने तयारी गरेको बताइएको छ।