धनगढी। कैलाली जिल्ला कारागारमा कैदीबन्दी भेट्न आउने २ जना कारागारको गेटबाटै लागूऔषधसहित पक्राउ परे । कैलाली कारागारमा रहेका छोरा भेट्न गएकी धनगढी उपमहानगरपालिका–३, की ५० वर्षीया कमलादेवी अवस्थी असार १० गते लागूऔषधसहित पक्राउ परिन्।
छोरा ओमप्रकाशलाई भेट्न कारागार गेट निर पुगेकी उनले लगेको सामान सुरक्षाकर्मीले चेकजाँच गर्दा बिस्कुटभित्र पाँच ग्राम लागूऔषध लुकाएको अवस्थामा फेला परेको हो । ओमप्रकाश पनी लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका र प्रहरीका अनुसार उनकी आमा कमलादेवीसमेत लागूऔषध मुद्दा जिल्ला प्रहरीको हिरासतमा रहेकी छिन् । यस्तै असार १५ मा प्रहरीले धनगढीस्थित कारागारको गेटबाट धनगढी–६ चटकपुरका २५ वर्षीय भीम बोगटीलाई पक्राउ ग¥यो ।
जबर्जस्ती करणी मुद्दामा जेलमा रहेका आफन्त ३१ वर्षीय करन बमलाई भेट्न पुगेका बोगटीले ल्याएको स्याम्पुको बट्टामा १३ ग्राम खैरो हेरोइन बरामद भएको थियो । यी एउटा लागूऔषधका कारोबार र प्रयोगमा भैरहेको डरलाग्दो उदाहरण हो। दैनिकजसो लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ प्रहरीले गरिएको छ । सुदुरपश्चिमका जोडिएका भारतसँगका सिमानाकाबाट लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ पर्ने गरेका छन्। यस्मा प्रहरीले सक्रियता बढाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशमा लागूऔषधको कारोवार बढ्दै गएको देखाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशको नौ जिल्लामा लागूऔषधसम्बन्धी १ सय ७१ वटा मुद्दा अदालतमा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा दुई सय ५३ र आर्थिक बर्ष २०७८ /०७९ मा लागूऔषधसम्बन्धी तीन सय ५३ मुद्दा दर्ता भएका थिए । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०७९/०८० असारको हालसम्म ४ सय ९३ मुद्दा दर्ता भएका छन्। लागूऔषधको मुद्दा दर्तासँगै लागूऔषधका प्रयोगकर्ता पनी पक्राउ पर्ने क्रम बर्षेनि बढेका प्रहरीले जनाएको छ। सुदुरपश्चिममा आर्थिक वर्ष २०७६/०७७ मा १३ महिलासहित २ सय ७० जना पक्राउ परेका थिए ।
यस्तै चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा ५३ जना महिलासहित ६ सय ७० जना पक्राउ परेका छन् । यससँगै लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको र पछिल्लो समय लागूऔषधमा फस्ने महिलाको संख्या पनि बढेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशका नौवटै जिल्ला कारागारमा १ हजार ५९० कैदीबन्दी रहेकोमा ३ सय ७७ जना लागूऔषध मुद्दाका छन् । लागूऔषधको कारोवार बढ्दै जाँदा आपराधिक घटनाहरु पनि समाजमा बढेको प्रहरी तथ्यांकले देखाएको छ।
लागूऔषध नियन्त्रणको अभियानसहित प्रहरीले सक्रियता बढाएपछि प्रयोगकर्ता र कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीको तथ्यांकअनुसार लागूऔषध मुद्दामा पक्राउ परेकामध्ये १६ देखि २० वर्ष उमेर समूहका युवायुवतीको संख्या बढी रहेको पाइएको छ। कैलाली र कञ्चनपुरमा भारतसँग सीमा जोडिएका क्षेत्रबाट पनी युवा लागूऔषधको दुव्यर्सनी तथा कारोबार बढेको छ। प्रहरीका अनुसार खुला सीमाका कारण सजिलै तस्करी हुने गरेकाले नयाँ प्रयोगकर्ता बढाउन र दुर्व्यसनको लतमा परेकालाई लागूऔषध महँगोमा बेच्न ठूलो गिरोह सक्रिय रहेको छ ।