धनगढी । चालु आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमको भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घटेको छ । हरेक वर्ष भारतबाट त्रिनगर भन्सार नाकाबाट एक अर्बभन्दा बढी रुपैयाँको चामल आयात हुने गरेकोमा यस वर्ष घटेको हो ।
चामल आयातमा कुनै पनि अवरोध नरहे पनि आफैं घटेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । उनले बढ्दो महँगी र आफ्नै ठाउँमा उत्पादन वृद्धिले गर्दा चामल आयात घटेको हुनसक्ने बताए । भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट २३ हजार ६१५ टन चामल आयात भएकोमा चालु आर्थिक वर्षको असार १५ गतेसम्म पाँच हजार पाँच टनमात्रै चामल आयात भएको छ ।
गत वर्ष एक अर्ब ६ करोड ५६ लाख ४६ हजार रुपैयाँ मूल्यको चामल आयात भएको थियो । यस वर्ष २० करोड ४० लाख ८८ हजार रुपैयाँ मूल्यको चामल आयात भएको भन्सारले जनाएको छ । चामल आयातबाट भन्सार कार्यालयले गत वर्ष १३ करोड २५ लाख ३२ हजार रुपैयाँ र चालु आर्थिक वर्षमा दुई करोड ८४ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।उनले नेपाली चामल र भारतीय चामलको मूल्य लगभग समान भएपछि व्यापारीले चामल आयात गर्न छोडेको बताए । भारतबाट मसिनो चामल आयात हुने गरेको छ ।
किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तले मसिनो चामलको मूल्य बढेका कारण उपभोक्ताले मोटो चामल खान थालेको बताए । उनले २० किलोको एक कट्टा मसिनो चामलको मूल्य एक हजार ६ सय रुपैयाँ पर्दै आएकोमा यो बढेर दुई हजार दुई सय रुपैयाँ पर्न थालेको बताए । उनले २० किलो मोटो चामलको मूल्य ११ सय रुपैयाँ पर्दै आएकोमा बढेर १६ सय रुपैयाँ भएको बताए ।“चामलको मूल्य बढेको छ । पहिले समिनो चामल आउने रेटमा अहिले मोटो चामल आइरहेको छ,” उनले भने, “मूल्य बढे पनि मानिसको आम्दानी बढेको छैन । त्यसो भएर मानिस बाध्य भएर मोटो चामल खान थालेका छन् ।” मोटो चामल प्रदेशमै उत्पादन हुने गरेको छ भने पछिल्लो समयमा मसिनो धानखेती पुनः सुरुवात भएको छ ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २०७७ मा सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९० टन धान उत्पादन भएको थियो भने २०७७ मा चार लाख ५६ हजार ५४२ टन धान उत्पादन भएको थियो । २०७९ मा कैलाली जिल्लामा मात्रै तीन लाख ५० हजार टन धान उत्पादन भएको थियो ।कैलालीमा २०७७ मा तीन लाख सात हजार, २०७८ मा एक लाख ८० हजार टन धान उत्पादन भएको थियो । २०७७ मा कैलालीमा गरिमा जातको धान फलेको थिएन भने २०७८ मा धान काट्ने बेला आएको बेमौसमी बाढीले ठूलो परिणाममा धान उत्पादन घटेको थियो ।
सुदूरपश्चिममा आवश्यकताभन्दा एक लाख टन बढी धान उत्पादन हुने गरेको निर्देशनालयले जनाएको छ । सबैभन्दा कम धान उत्पादन भएको आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेशको आवश्यकताभन्दा ४८ हजार १९१ टन धान बढी उत्पादन भएको निर्देशालयकी योजना अधिकृत मीना पौडेलले बताइन् । उनका अनुसार सो वर्ष आवश्यकताभन्दा कैलालीमा १७ हजार ७९७, कञ्चनपुरमा ५२ हजार २८८, डोटीमा चार हजार ५४७ टन धान बढी उत्पादन भएको थियो । डडेल्धुरामा २८१, बैतडीमा १० हजार ३७२, अछाममा पाँच हजार ६२६, बझाङमा तीन हजार ६३५ र दार्चुलामा चार हजार ९७६ टन धान आवश्यकताभन्दा कम उत्पादन भएको थियो । प्रदेश कृषि निर्देशक यज्ञराज जोशीले प्रदेशमा मोटो र मसिनो दुवै प्रकारको धान उत्पादन वृद्धि भएको बताए । उनले धान उत्पादन वृद्धि भएसँगै भारतबाट चामल ल्याउनुपर्ने माग घट्दै भएको बताए । कारोबारबाट