दार्चुला। दार्चुलाका स्थानीय व्यवसायी टिंकर नाका खोल्न माग गर्दै फेरि काठमाडौँमा गएका छन् । नेपाल र चीन जोड्ने टिंकर नाका खोल्न माग गर्दै व्यास क्षेत्रका आधा दर्जन व्यवसायी दोस्रोपटक राजधानी काठमाडौँ पुगेका हुन्।
दार्चुलाका स्थानीय व्यवसायीको डेलिगेशन फेरि काठमाडौँ पुगेका हुन्। चार दशकभन्दा बढी समयदेखि व्यापार गर्दै आएका दीपकसिंह बोहराको नेतृत्वमा ७ जनाको टोली काठमाडौँ पुगेको हो । दुई महिनाअघि व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी नेतृत्वको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र सचिव, वाणिज्य सचिवसहित राजनीतिक र प्रशासनिक नेतृत्वसँग भेटघाट गरी नाका खोल्न माग गरेको थियो।
दुई महिनासम्म पनि कुनै सुरसार नभएपछि उनीहरु फेरि काठमाडौँ जान बाध्य भएका हुन्। सोमबार मात्रै नेता दिलेन्द्रप्रसाद बडूसहित व्यवसायीहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेको छ। चीन भ्रमणमा रहेका गृहमन्त्रीसँग फोनबाटै भए पनि तत्काल नाका खुलाउन अनुरोध गरिएको पनि बताइएको छ। आफूहरूको मुख्य पेशा व्यापार व्यवसाय भएकाले जीविकोपार्जनमा समेत समस्या भइरहेको व्यवसायी विमलकुमार बोहराले बताए।
व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले तिब्बत सरकारअन्तर्गत आली प्रिफेक्चरमा रहेको वैदेशिक मामिला कार्यालयलाई समेत नाका खुलाउन अनुरोध पत्र पठाएको बताए। परम्परागत रुपमा दशकौँदेखि टिंकर नाका भएर दार्चुलाका स्थानीय व्यापारीले ताक्लाकोट सहरमा व्यापार व्यवसाय गर्दै आएका थिए। कोभिड महामारीले अन्तर्राष्ट्रिय नाका बन्द भएपछि ४ वर्षदेखि टिंकर नाका ठप्प छ ।