कञ्चनपुर। नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितलाई उचित व्यवस्थापन गर्न माग गरेका छन्।
मंगलवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका बासिन्दालाई निकालिए पनि हालसम्म व्यवस्थापन नगरिएको बताए। उनले विस्थापित पीडितहरूलाई व्यवस्थित गर्न माग गरे। आरक्ष पीडितहरू हालसम्म शिविर, जंगल र नदी किनारामा बस्न बाध्य भएको भन्दै उनीहरूलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उनले माग गरे।
आफ्नो जमिन आरक्षलाई छोडेका त्यहाँका बासिन्दालाई हालसम्म मुआब्जा नदिएको उनको भनाइ छ। उनले भने‚ ‘शुक्लाफाँटा आरक्षभित्र आरक्ष पीडित छन्। २०५८ सालमा उहाँहरूलाई विनासूचना हटाइयो र मुआब्जा पनि दिइएन। विस्थापित आरक्ष पीडितहरूलाई व्यवस्थित गरियोस्। आरक्ष पीडितहरू २२ वर्षदेखि शिविर, जंगल र नदीका किनारमा बसिरहेका छन्।
तिनले आफ्नो जमिन सरकारलाई बुझाए तर उनीहरूलाई सट्टा जमिन दिइएन। पीडितलाई जमिनको साटो जमिन दिएर व्यवस्थित गर्नुपर्छ।’यो समस्या समाधान गर्न ३२ वटा आयोग बनाए पनि समस्या समाधान नगरेको उनले चर्चा गरे। राजनीतिक दलहरूले यसलाई राजनीति गर्ने माध्यम नबनाउन चेतावनी दिए। उनले बजेटमा भूमिहीनलाई कसरी र कहाँ जग्गा दिने भन्ने उल्लेख नगरिएको बताए। त्यसैगरी बजेट संघीयताको पक्षमा नरहेको उल्लेख गरे।


