कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा मध्यवर्ती क्षेत्रमा चिनियाँ बकुल्ला देखिएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा चिनियाँ बकुल्ला (चाइनिज पण्ड हिरन) देखीएका हुन् ।
नेपालका लागि फिरन्ते चराको रुपमा रहेका यी बकुल्ला सुदूरपश्चिममा पहिलो पटक देखिएको विशेषज्ञहरूले बताएका छन् । नेपाल पंक्षी संरक्षण संघका हिरुलाल डगौंराले आइतबार तोप चरा गणनाका क्रममा झिलमिला क्षेत्रको खेतमा उक्त बकुल्ला देखिएको बताए । उनले यसअघि उक्त बकुल्ला गत वर्ष चितवनमा र एक महिनाअघि मात्रै जेठ ६ मा पोखरामा देखिएको बताए।
डगौंराले ‘नेपालका लागि यो फिरन्ते चरा चितवनयता पहिलो पटक देखिएको बताउँदै चीन, दक्षिण कोरिया र जापानका लागि भने रैथाने चरा भएको जानकारी दिए । बसाइ सर्ने क्रममा यसले नेपालको बाटो प्रयोग गर्ने गरेको उनको भनाई छ। अन्य बकुल्ला जस्तै भए पनि यसको टाउको, घाँटी र छातीमा हुने कटुस रंगले यसलाई पहिचान गर्न सकिने डगौंराले बताए। आसकोटे, वस्तु, मझौला सेतो र सानो सेता बकुल्लासँगै यी बकुल्ला धानबारीमा आहारा खोजिरहेको अवस्थामा चिनियाँ बकुल्ला देखिएका हुन् ।
चिनियाँ बकुल्ला देखिएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराको संख्या ४६१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । उनले सुदूरपश्चिममा यो प्रजातिको अभिलेख पहिलो पटक गरिएको बताए।चरा अनुगमनकै क्रममा एक महिनाअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालकै लागि नयाँ प्रजातिको लेसर ग्रे स्राईक नामको चरा भेटिएको थियो । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने सुनवन नदी तटीय क्षेत्रका कालापानी क्षेत्रमा उक्त चरा देखिएको हो।