धनगढी। भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरका नाका क्षेत्रबाट हुने अबैध भन्सार छलीका सामान रोक्न प्रहरी निरन्तर लागीरहेको छ। सुदुरपश्चिम प्रदेशको मुख्य सिमानाका भएकाले बढी आवतजावत तथा सम्बेदनशिल मानिएका ति नाका भएर हुने अबैध भन्सार छलीका सामान रोक्न प्रहरी सक्रियता निरन्तर जारी रहेको हो।
कैलाली र कञ्चनपुरका सिमा नाका वा खुला नाका भएर दैनिक हजारौँ देखी लाखौँ मुल्यका अबैध भन्सार छलीका सामान आयात हुने गरेका छन्। ति अबैध भन्सार छलीका सामान प्रहरीले दैनिक जसो बरामद गरेर नियन्त्रणमा लिएका समाचार र सुचनाहरु सञ्चार माध्यममा आइरहेका छन्। प्रहरीले कैलालीमा आइतबार मात्रै झण्डै ४ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरेको छ।
प्रहरीले आइतबार बिहान धनगढी उपमहानगरपालिका-३ मिलनचोकमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १७ हजार रुपैयाँ बराबरको बिडी, पानमसाला, सुर्ती, चक्लेट, लगायतका सामान वेवारिसे अवस्थामा फेला पारेको छ। धनगढी ३ को मिलनचोकबाटै प्रहरीले आइतबार दिउँसो ३० हजार रुपैयाँ मूल्यको भन्सार छलीको स्टेसनरीका सामान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । धनगढी ३ मिलनचोकबाटै प्रहरीले २७ हजार रुपैयाँ बराबरको भन्सार छलीका साडी, कुर्ती, नल्काको वाल, खुद्रा सामानसहित एकजनालाई पक्राउ गरेको जनाइएको छ।
प्रहरीले ती सामानसहित बैतडी पुरचौडी नगरपालिका–७ का २१ वर्षीय लोकेन्द्र साँउदलाई पक्राउ गरेको हो। यस्तै धनगढी–३ मिलनचोकबाट पनि करिब ७९ हजार ३३५ मूल्य बराबरका प्लाष्टिक झिल्ली, खुर्सानी, साबुन, सुटलगायतका सामान प्रहरीले बरामद गरेको छ। उक्त सामान बेवारिसे अवस्थामा फेला परेका प्रहरीले बताएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट भन्सार छलीका सिलिङ पंखा, टेबल पंखा, पंखा बक्स र एक थान अटो प्रहरीले बरामद गरेको हो।
करिब तीन लाख मूल्यका उक्त सामान, अटो र चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। त्यस्तै, कैलालीको भजनी नगरपालिका–३ कर्मदेवघाटबाट भन्सार छलीका गुट्खा र एक थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। करिब एक लाख १३ हजार मूल्य बराबरका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । आइतवार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती सामान नियन्त्रणमा लिएको हो ।यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा आइतबार एक थान मोटरसाइकलसहित करिब एक लाख रुपैयाँ बराबरको ब्रोईलर कुखुरा वेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयहरुले बरामद गरिएका उक्त अबैध सामानहरु नियन्त्रणमा लिएको र पक्राउ परेकामाथी थप अनुसन्धान गरिरहेको जनाएका छन् ।