कैलाली। कैलालीको मोहन्याल गाउँपालिकाको बिवाद साम्य हुन सकेको छैन्। असार १० गते (आइतबार) गाउँपालिकाको १२ औं गाउँसभामा हाल वडा नं. ४ को खिमडीमा रहेको पालिकाको कार्यालय वडा नं. १ को भकुण्डेटारमा सार्ने बहुमतले निर्णय गरेपछि स्थानीयले गाउँसभामै आक्रमण गरे।
गाउँसभाले केन्द्र सार्ने निर्णय गरेकै दिन सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले उद्घाटन गरेको गाउँपालिकाको प्रिफ्याब भवनमा ढुंगामुढा प्रहार भएको थियो।गाउँसभामा नीति तथा कार्यक्रमसहित पालिकाको कार्यालय सार्ने विषयमा गाउँसभामै विवाद भएपछि स्थानीय र जनप्रतिनिधिबीच कुटाकुट भएको हो ।ढुंगामुढाबाट झ्यालका सीसा फुट्नुका साथै कुर्सी भाँचिएका छन्।गाउँपालिकाले रातारात गाउँसभाको बैठक राखेर पालिकाको केन्द्र तोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशितपछि कुटाकुट भएको हो। स्थानीयको आक्रमणबाट अध्यक्ष देवीदत्त उपाध्याय तथा उपाध्यक्ष कमल साउँदसहित वडा नं. ५ का वडाध्यक्ष प्रविण घर्ती,वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत गाउँसभा सदस्यहरु घाइते भएका थिए। घाइतेहरुको खुट्टा र टाउकोमा चोट लागेको गाउँपालिकाका कर्मचारीले बताएका छन्। कुटपिट गर्ने ४ जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।हाल खिमडीमा रहेको गाउँपालिका केन्द्र सार्ने निर्णय भएपछि कतिपय जनप्रतिनिधि र स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन्।
गाउँ सभामा असार १० गते आइतबार नीति तथा कार्यक्रमसहित ४६ करोडको बजेट पनि प्रस्तुत भएको छ। तर, बजेट पारित हुन बाँकी रहेको छ। गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले केन्द्रको विषयलाई भएको विवाद अझै समाधान हुन नसकेको बताए। २०७४ मा स्थानीय तहको निर्वाचन भएदेखि ६ वर्षसम्म गाउँपालिका केन्द्र तोक्न सकीएको छैन्। त्यसपछि पहिलो कार्यकालमै मोहन्याल गाउँपालिकाको केन्द्र सार्ने विषयमा आवाज उठ्दै आएको थियो। त्यसयता पटक–पटक गरिएका प्रयास सफल हुन सकेनन् । यसअघि गाउँपालिकाको ११ औँ गाउँसभामा पालिकाको केन्द्र सार्ने वा हेरफेर गर्ने प्रस्तावमा सहमति जुट्न सकेको थिएन। त्यसयता ३ पटक कार्यपालिका बैठक स्थगित भएको थियो।
भौगोलिक विकटताले मोहन्यालको केन्द्र खिमडीसम्म पुग्न पैदल हिँडेर ३/४ दिन लाग्छ। मोहन्यालमा अझैपनि पूर्वाधार विकासले फड्को मार्न सकेको छैन । त्यसैले, सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने माग यहाँका स्थानीय र जनप्रतिनिधिले पेचिलो रुपमा अघि सारेका थिए । तरपनि सहमति नजुटेपछि जनप्रतिनिधिको पहिलो कार्यकाल खिमडी, सुखड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन गर्दैमा बित्यो । यातायात र सञ्चारसुविधाको पहुँच पुग्न नसक्दा अघिल्लो कार्यकालमा गाउँपालिकाको कार्यालय छिमेकी पालिकाको सुखड, बौनियाबाट अस्थायी कार्यालय राखिएको भन्दै जनप्रतिनिधि आलोचित हुँदै आएका थिए ।
यसअघि पनि गाउँपालिका केन्द्र सार्ने विषयमा गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय र उपाध्यक्ष साउँदबीच विवाद हुँदै आएको थियो । पालिकाले केन्द्र पायक नभएपछि गाउँपालिकाका उपाध्यक्ष कमल साउँदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समिति गठन गरिएको थियो । गत २०८० बैशाख २४ गते बसेको गाउँकार्यपालिका बैठकले मोहन्यालको केन्द्र वडा नं. १ को भकुण्डेटार सार्ने निर्णय गरेको थियो । ६२६.९५ वर्ग किलोमिटर रहेको कुल क्षेत्रफल मोहन्याल गाउँपालिका मोहन्याल, पण्डौन र सुगरखाल गरी तीन गाविसहरु मिलेर बनाइएको हो। कुटपिट गर्ने ४ जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।