दार्चुला। दार्चुलामा स्कुलको कम्पाउण्ड घेरबारबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर-६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको स्कुलको कम्पाउण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आइतवार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। स्कुलको कम्पाउण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०/६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको उनले बताए। घटनाका बारेमा थप अनुसन्धान गर्न अहिले खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको कार्यालयले जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।