कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट दुई महिनाअघि एक महिलाको मृत्यु भयो। भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आएको उक्त बाघले बेलौरी नगरपालिका ८ मा खप्टी नालामा घाँस काटिरहेकी महिलामाथि आक्रमण गरेको थियो ।
उक्त घटना अघि सोही बाघको आक्रमणमा परेर दुधुवा राष्ट्रिय निकुञ्जमै घाँस काट्न गएकी पुनर्वास नगरपालिकाकी एक महिलाको मृत्यु भएको थियो । सोही बाघले आक्रमण गरेर भारततर्फ एक पुरुषको मृत्यु भएको थियो । पुनर्वास र बेलौरीमा नियमित रुपमा बाघ देखिएको थियो । तर उक्त बाघ कहाँबाट आएको हो भन्ने पहिचान हुन सकेको थिएन
। ‘भारततर्फ दुई जनाको ज्यान लिइसकेर नेपालतर्फ आएको भन्ने जानकारी मात्रै आएको भए हामी अलर्ट हुन्थ्यौं,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले वनकर्मीसँगको अन्तर्क्रिरयामा भने, ‘महिलाको ज्यान जाने घटना हुनु अगावै बाघलाई नियन्त्रणमा लिन सकिन्थ्यो ।’ उनले नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डका वनकर्मीसँग शुक्रबार आयोजित अन्तर्क्रिरयामा आक्रमण गर्ने बाघबारे जानकारी पाए सतर्क हुन सकिने बताएका हुन् ।
पछि उक्त बाघलाई बेलौरीबाट नियन्त्रणमा लिइयो र ललितपुरस्थित चिडियाखानामा पु¥याइयो । उक्त बाघको नाम महारानी राखिएको छ । वन कार्यालय प्रमुख तिवारीका अनुसार एक साताअघि धनगढीमा आयोजित यस्तै अन्तर्क्रिरयामा दुधुवा राष्ट्रिय निकुञ्जका वनकर्मीले उक्त बाघबारे जानकारी दिएका हुन् । भारततर्फ दुई जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिने प्रयास भएको थियो । तर सफलता मिलेन । त्यहीबेला बाघ नेपालमा पसेको भारतीय वनकर्मीले बताए।
चार महिनामा चार बाघ मृत
नेपालसँगै जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा पछिल्लो ४ महिनामा ४ वटा बाघ मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको किसनपुर अभयारण्यको मैलानी रेञ्जमा वन र गाउँमा ती बाघहरू विभिन्न समयमा मृत भेटिएका हुन् । बाघको मृत्युबारे उत्तर प्रदेशका मुख्य मन्त्रीले वन मन्त्रीलाई खटाएर जाँचबुझ गर्न लगाएका छन् । केही वनकर्मी निलम्बनमा परेका छन् । मृत बाघको दिल्लीमा पोष्टमार्टम हुँदा धेरै दिनदेखि भोका र शरीरमा घाउ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय वन अधिकारीहरूले फिरन्तेहरू विभिन्न बहानामा वन आसपासका क्षेत्र घुमफिर गरी वन्यजन्तु सिकार तथा तस्करी गर्ने भएकोले तिनको निगरानी गर्नुपर्नेमा जोड दिएका छन् । ‘तपाईंहरू पनि यस्तो विषयमा सचेत हुनु आवश्यक छ, फिरन्ताहरू नेपालमा पनि धेरै घुमिरहेका हुन्छन,’ वन विभाग हल्द्घनीकी उपप्रभागीय वन अधिकारी ममता चन्दले भनिन, ‘हामीहरू एक अर्कामा सूचना आदानप्रदान र सहकार्य गरेर मात्रै वन र वन्यजन्तुको संरक्षण गर्न सक्छौं ।’ हल्द्घानी वन विभाग अन्तरगत ब्रह्मदेवसककंगै जोडिएको नन्धौर वन्यजीव अभराण्य पर्छ, जहाँ हात्ती र बाघ ठुलो संख्यामा छन् । ब्रह्मदेव हात्तीको परम्परागत करिडोर पनि हो तर अहिले नेपालतर्फ खल्ला मुसेट्टी क्षेत्रमा बाक्लो वस्ती बसिसकेका कारण करिडोर अवरुद्ध भएको छ । नेपालतर्फबाट गएको हात्ती चुरे फेदबाट फर्किने र भारततर्फ नन्धौरबाट नेपाल पस्न खोज्ने हात्ती महाकाली किनारबाट फर्किने गरेको भारतीय वनकर्मीको भनाई छ ।
ब्रह्मदेवको उत्तरतिर खल्ला मुसेट्टीबाट सालको काठदेखि जडीबुटी भारततर्फ तस्करी हुने भएकाले त्यसको रोकथामका लागि भारतीय पक्षबाट पहल हुनुपर्ने नेपालका वन अधिकारीहरूले जोड दिएका छन् । यस्तै, भारतबाट नेपालतर्फ शिसमको काठ तस्करी हुने भएकाले त्यसतर्फ ध्यान दिन भारतीय पक्षले आग्रह गरेको छ । ‘दुवैपक्ष सूचना आदानप्रदानसँगै समन्वय र सहकार्य गरेर अगाडी बढन सके मात्रै वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भने, ‘निकुञ्जले पनि नियमित रुपमा दुवैतर्फका संरक्षणकर्मीसँग छलफल गरिरहेको छ ।’
सीमा क्षेत्रमा वन्यजन्तुको आवागमनमा हुने अवरोधहरू हटाउनुका साथै करिडोरलाई व्यवस्थित गर्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले बताए । उनले यसको नियमित अनुगमन समेत आवश्यक रहेको बताए ।‘दुवैतर्फका वन्यजन्तुको सूचना आदानप्रदान हुन सके तिनको आवागमन पनि अनुगमन गर्न सकिन्छ,’ उनले भने, ‘संरक्षित क्षेत्रहरू एक आपसमा जोडिएका छन, एकातर्फ वन्यजन्तु मारिँदा त्यसको असर अर्कोतर्फ पनि पर्छ त्यही भएर सूचना प्रमुख हतियार हो ।’ दुवैतर्फका वनकर्मीहरूले सूचना आदानप्रदानसककंगै वन र वन्यजन्तुको संरक्षणदेखि उनीहरूको विचरणलाई सहज बनाउन समन्वय र सहकार्य गर्ने सहमति गरेका छन् । नियमित रुपमा छलफल गरेर रणनीतिहरू समेत बनाउन उनीहरू सहमत भएका छन् । डिभिजन वन कार्यालयले सीमा क्षेत्रका वनकर्मीको अन्तर्क्रिरया आयोजना गरेको हो ।कान्तीपुरबाट


