धनगढी। कैलालीको मोहना र पथरैया नदीमा डल्फिन देखिन थालेका छन्। कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका हुन्।
कैलालीका नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए। हिजो शनिवारदेखि मोहना र पथरैया नदीमा गरी ४ वटासम्म डल्फिन देखा परिरहेका छन्। जसमध्ये एउटा बच्चा छ। टीकापुर नगरपालिका-७ बैदीस्थित नदीमा यी डल्फिन देखा परिरहेका छन्।
कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि मात्रै बस्ने गर्छन्। नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष ढुङ्गानाले जानकारी दिए। वर्षाभरि सहायक नदीमा रमाउने डल्फिनहरू मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै तल्लो तटीय क्षेत्रतर्फ जाने गरेका छन्।
हरेक मनसुनमा यहाँ डल्फिन अवलोकनका लागि देशविदेशबाट पाहुनाहरू आउने गर्छन्। कैलालीमा अत्यन्त नजिकबाट डल्फिन अवलोकन गर्न सकिने स्थान मानिन्छ। मान्छे पछिको चेतनशील प्राणीका रुपमा डल्फिनलाई लिने गरिन्छ। अन्य महिनामा डल्फिन नजिकैको कर्णाली नदीतर्फ लाग्छन्। यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ।
यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ। सरकारले वि.सं. २०२९ मा डल्फिनलाई सूचीकृत गरेको थियो। यसलाई मान्छे पछिको चेतनशील प्राणीका रुपमा लिईन्छ। यो माशांहारी प्राणी हो। यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अध्ययनकर्ता बताउँछन्। डल्फिनले आफ्नो बच्चालाई मानिसले झैं दूध चुसाउने गरेको छ।