डडेल्धुरा। परराष्ट्रमन्त्री एनपी साउदले नेपाल-भारत सीमासम्बन्धी समस्याले निकास पाउने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए। उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताए।
तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको उनको भनाइ थियो। ‘अलि कति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौं । हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौँ,’ मन्त्री साउदले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौँ, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौं तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’
उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए। यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारे । बजारमा आएको हल्लामा कुनै सत्यता नभएको बताएका हुन्। उनले एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छ्न्। ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ।
हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन,’ उनले भने।सरकारले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए। बाहिर हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ । उनले प्रतिपक्षका मागलाई सरकारले अधिकतम सम्बोधन गर्ने प्रयास गरिरहेको बताए । उनले डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिए।