दार्चुला। दार्चुलामा करणी आरोपमा पक्राउ परेका वडाध्यक्षलाई कारागार चलान गरिएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका धामीलाई गत जेठ २४ गते प्रहरीले पक्राउ गरेको थियो । महिला माथी गत माघ २० गते राति घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो। ति महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो।
प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। अदालतको आदेश अनुसार बुधवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथी अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धामी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।