धनगढी। कैलाली कारागारमै लागुऔषध फेला परेको छ। धनगढी उपमहानगरपालिका–१ जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका ३१ वर्षीय करन बमलाई भेट्न आएका आफन्तबाट १३ ग्राम लागुऔषध बरामद गरेर पक्राउ गरेको प्रहरीले जनाएको छ।
आज दिउँसो १ बजेर ३० मिनेटमा बमलाई भेट्न आएका डोटीको बोगटान नगरपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–६ चटकपुरमा नास्ता पसल सञ्चालन गर्दै आएका २५ वर्षीय भीम बोगटीबाट लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो। बोगटीलाई चेकजाँच गर्दा स्याम्पुको डब्बाभित्र लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। यस अघि कैलाली कारागारमा कैदीछोरालाई भेट्न पुगेकी आमा ब्राउन सुगरसहित पक्राउ परेकी थिइन्।जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्धामा कैद भुक्तान गरीरहेका २१ बर्षीय छोरा ओम प्रकास अवस्थीलाई भेट्न पुगेकी धनगढी ३ मिलनचोककी ५० बर्षीय कमला देवि अवस्थिलाई प्रहरीले पक्राउ गरेको थियो ।असार १० गते दिउँसो २ बजे कैलाली कारागारमा सामान चेकजाँच गर्ने क्रममा कमलाले बिस्कुट भित्र लुकाई ल्याएको ५ ग्राम ४० मिलिग्राम (ब्राउन सुगर) फेला पारी बरामद गरिएको थियो ।