धनगढी। सुदूरपश्चिमका पहाडी जिल्लामा लगातारको वर्षाका कारण अधिकांश सडक अवरुद्ध बनेका छन् । लगातारको वर्षासँगै आएको पहिरोका कारण अधिकांश सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आज शुक्रबार बिहान आएको बर्षाका कारण पहिरो जाँदा सडकहरु थप अवरोध बनेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबांज र मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकस्थित गोकुलेश्वर–दार्चुला हाईवे सडक खण्डमा जाँदा सडक अवरोध भएको बताइएको छ।
यस्तै अछामको बान्निगढी जयगढ गाउँपालिका-४, कचरेटी खोला-मंगलसेन–साँफे सडकखण्ड, दार्चुलाको शैल्यशिखर नगरपालिका-६, पनेबाँज र मालिकार्जुन गाउँपालिका–४ तेर्छालेक, गोकुलेश्वर–दार्चुला हाइवे सडकखण्ड, बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरा, जयपृथ्वी राजमार्गमा खोडपे–बझाङ सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार सडक अवरुद्ध भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन।पहिरोका कारण लामो तथा छोटो दुरीका यातायात सेवा प्रभावित बन्न पुगेका छन्। विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ। तर पनी अवरुद्ध क्षेत्रमा बाटो खुलाउने प्रयास भइरहेको भएपनि लगातारको बर्षा र पहिरोको जोखिम कायमै छ। प्रदेश प्रहरी कार्यालयले मनसुन र भारी वर्षाका कारण वर्षाका कारण पहिरो जाँदा सडक अबरुद्ध भएकाले पहिरो पन्छ्याएर सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।


