धनगढी। सुदुरपश्चिम प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका खाद्यान्न बिक्री केन्द्रहरुमा अनाज तथा खाद्यान्न मौज्दात नभएको पाइएको छ। सुदुरपश्चिमका पहाडी जिल्लाका खाद्यान्न बिक्री केन्द्रमा बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिका बेला चाहिने खाद्यान्न (गहुँ, मकै, चामल) को मौज्दात नभएको पाइएको हो ।
देशभर मनसुन फैलिएकाले बाढी, पहिरोलगायत प्राकृतिक विपत्ति बढ्ने आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ । जसकारण सडक अवरुद्ध हुने सम्भावना पनि रहेको बताइएको छ । विपत्तिका बेला चाहिने खाद्यान्नको मौज्दात भने सरकारसँग अत्यन्त न्यून छ । बाढी, पहिरो, भूकम्प, खडेरीजस्ता प्राकृतिक विपद्का लागि सार्क फुड बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा कम्तीमा ३३ हजार टन खाद्यान्न (गहुँ, मकै, चामल) मौज्दात राख्नुपर्छ । तर, सरकारी गोदाम रित्तै सरह (जम्मा १० हजार टन) छ ।
सरकारले सार्क र राष्ट्रिय खाद्य सुरक्षा भण्डारको जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दिएको छ । तर, सरकारी भण्डार रित्तै रहेको छ ।
सार्क फुड बैंकमा ८ हजार र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा २५ हजार टन मौज्दात राखिराख्नुपर्छ । उक्त मौज्दातबाहेक खाद्यले कारोबार गर्ने खाद्यान्न छुट्टै हुनुपर्छ । तर, मुलुकभरको मौज्दात परिमाण करिब १० हजार टन मात्रै छ,’ खाद्यका एक कर्मचारीले बताए । ‘सोही परिमाणबाट खाद्यले दैनिक कारोबार गरिराखेको छ । फुड बैंककै लागि सरकारले अनुदानसमेत दिन्छ । यसमा कम्पनीको चरम लापरबाही देखिएको छ ।’
बर्खा सुरु भइसक्दासमेत भण्डारणमा मौज्दात छैन । सरकारले पहिचान गरेको दुर्गमका २४ जिल्लामा खाद्यान्न ढुवानी र बिक्री गर्ने हो । यी जिल्लाका लागि करिब १ सय वटा बिक्री केन्द्रसमेत तोकिएको छ । तर, ६३ वटा केन्द्र रित्तै छन् । सुगम र दुगर्मकै सदरमुकामम केही परिमाणमा मौज्दात भए पनि दुर्गमका बिक्री केन्द्रमा मौज्दात छैन । ‘बर्खा सुरु भइसक्यो, सदरमुकाममा केही मौज्दात रहे पनि बिक्री केन्द्रमा चामल छैन,’ खाद्यका एक कर्मचारीले भने । जेठ २९ सम्म सुगमका १५ जिल्लाका शाखा कार्यालयमा ३० हजार ४ सय ९७ क्विन्टल (३०४९ टन) मौज्दात रहेको कम्पनीको तथ्यांक छ । तर दुर्गमका २४ जिल्लाका कार्यालयहरूमा १८ हजार ६ सय २१ क्विन्टल (१८६२ टन) मात्र मौज्दात छ ।
जिल्ला कार्यालयका धेरैजसो बिक्री केन्द्रमा चामल छैन । ‘विगतमा विपद् व्यवस्थापनलाई चाहिने खाद्यान्नमा कुनै कमी राखेनौं । सार्क फुड बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा ३३ हजार टन हुन्थ्यो । अहिले मौज्दात नराखेर व्यवस्थापनले लापरबाही ग¥यो,’ खाद्य कम्पनीका पूर्व विक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुरले भने, ‘सार्कलाई मान्य हुने गहुँ, मकै, चामल मात्रै हो । तर, खाद्यसँग चामल मात्रै छ, त्यो पनि पर्याप्त छैन । केही विपद् आइलागे यसले राष्ट्रलाई नै धोका हुन्छ ।’ सरकारको असफल नीतिका कारण दुर्गममा खाद्यान्न ढुवानी गर्न नसकिएको उनको दाबी छ । धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेको सरकारले धान खरिदमा पनि झेल गरेको थियो ।
चालु आर्थिक वर्षमा किसानको सवा ३ लाख टन धान किन्ने लक्ष्य राखेको सरकारले करिब १० प्रतिशत मात्रै किन्यो । धान उत्पादनका हिसाबले किनिएको परिमाण ०.६४ प्रतिशत मात्रै हो । गत वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १३ हजार ४ सय ४२ टन र कृषि मन्त्रालयले सहकारीमार्फत २२ हजार टन मात्रै किनेको छ । किसानको धान किन्न नचाहेको खाद्य कम्पनीले भण्डारण बढाउन व्यापारीसँग चामल किन्ने प्रक्रिया भने अघि बढाएको छ ।
८ हजार ८ सय टन चामल किन्नकै लागि खरिद सम्झौता गरेको छ । ९ हजार १ सय टनका लागि बिडिङ प्रक्रिया सुरु भएको छ । हालको मौज्दात, खरिद सम्झौता र बिडिङ प्रक्रियामा रहेको परिमाणसहित जोड्दा २७ हजार टन मौज्दात हुन्छ । यीबाहेक जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुलालगायत धेरै जसो बिक्री केन्द्रमा चामल छैन । खाद्य कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीमबहादुर थापाले भने दुर्गममा मौज्दातको व्यवस्था नै नभएको दाबी गरे । दसैंअघिसम्मलाई चामल पुग्ने गरी ढुवानी भएको उनको भनाइ छ ।
खाद्यका अनुसार जेठ २९ सम्म सुगम जिल्लामा ५५ हजार ५ सय ६३ क्विन्टल (५५५६ टन) र दुर्गम जिल्लामा ८३ हजार १ सय ६५ क्विन्टल (८३१६ टन) चामल बिक्री भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भने खाद्यान्न मौज्दातका विषयमा खाद्य कम्पनीसँगै बुझ्नुपर्ने बताए । करिब १५ दिनअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मौज्दात पर्याप्त रहेको जानकारी गराएको उनको भनाइ छ । ‘दुर्गममा छिटो ढुवानी गर्न भनिरहेका छौं,’ उनले भने, ‘थप विषयमा मलाई पनि जानकारी छैन, मैले पनि कम्पनीमै बुझ्नुपर्छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दसँग पटकपटक टेलिफोन सम्पर्क गर्दा पनि उनको फोन उठको छैन् ।