कैलाली। कैलालीमा दुई वर्षभित्रै बनिसक्नुपर्ने पुल १२ वर्षपछि बनेको छ । कैलालीको भजनी नगरपालिकाको ठेकीपुरस्थित कान्द्रा नदीमाथि निर्माण सुरु भएको पुल १२ वर्षपछि बल्ल बनेको हो । जब कि पुल दुई वर्षभित्र बनिसक्नुपर्ने सम्झौता भएको थियो ।
तीन करोड ४५ लाख लागतमा एक सय मिटर लामो यो पुलको निर्माणका लागि लामा–साल्पा–शेर्पा–बिरुवा जेभीसँग जेठ ०६८ मा निर्माण सम्झौता भएको थियो । २०८० को असारमा पुल निर्माणको काम पूरा भएको हो ।सुरुमा पुलको डिजाइन परिवर्तन गरिएका कारण केही ढिलाइ भए पनि पछि निर्माण कम्पनीको लापरबाहीले काम अलपत्र पारेको थियो।
अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ। असार भित्र पुलसम्म जाने सडकको समेत काम पूरा हुने भएकाले बर्खामा समस्या नहुने हुलाकी सडक योजना कार्यालय, धनगढीले बताएको छ।सूचना अधिकारी दीपक सुनारले असार भित्र सबै काम पूरा हुने जानकारी दिए। पुल निर्माणपछि कैलालीको भजनी क्षेत्र र हुलाकी राजमार्ग हुँदै ओहोरदोहोर गर्ने नागरिकलाई सहज हुने बताएका छन् ।