दार्चुला। दार्चुलामा एक विद्यालय भित्रै विद्यार्थीमाथी कुटपिट भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउँद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो।
दार्चुला प्रहरीका अनुसार असार ११ गते विद्यालयमा विद्यार्थीबीचको झगडामा गएर हरिभक्त गिरीले साउँदलाई विद्यार्थीको बीचमा कुटपिट गरेका थिए। बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका-१ घर भएका साउँदबीच सामान्य विवाद भएर झगडा भएका बेला गिरीले साउँदलाई विद्यालयमा नै गएर कुटपिट गरेका हुन्।
विद्यार्थीमाथि कुटपिट गर्ने गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउँदका अभिभावकले मंगलवार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले अभद्र व्यभारमा मुद्दा दर्ता भएको बताए। अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जानकारी दिएको छ।