कञ्चनपुर। महेन्द्रनगरको केन्द्रमा रहेको मदनचोकको सडकमा स्थानीयहरुले धान रोपाईं गरेका छन्। उनीहरुले भीमदत्त नगरपालिकाले नगरमा जारी विकास निर्माणमा ध्यान नदिएको भन्दै बुधबार विरोधस्वरुप रोपाईं गरेका हुन्।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा महेन्द्रनगर बजारका सबै गल्ली र सडक सफा र सुन्दर हुँदै गएपनि मदनचोकमा भने निर्माण अलपत्र परेको छ । भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेका २२ सटर नभत्काउँदा मदनचोकमा निकास नभएर पानी जमेपछि विरोध स्वरुप सडकमैं धान रोपाईं गर्नु परेको स्थानीय व्यवसायी भूवन जोशीले बताए ।
मदनचोकमा सतह ढल निर्माणको काम रोकिँदा सामान्य वर्षामा पनि सडकमा पानी भरिएर पसलभित्रै पस्ने गरेको छ। मदनचोकका २२ सटर अहिले एडिबी सहयोगको निर्माण कार्यमा सबैभन्दा ठूलो अवरोध बनेका छन् । नगरपालिकाले ती सटर भत्काउन आनाकानी गरिरहेको छ । २२ सटर नभत्काउँदा बसपार्कबाट दक्षिणतर्फ बग्ने पानी मदनचोकमा जम्मा भइरहेको छ । मदनचोकमा सतह ढल बनाउने काम ती २२ सटरका कारण अवरुद्ध छ ।स्थानीयहरुले धान रोपाईं गरेपछि भीमदत्त नगरपालिकाको ध्यान गएको छ । नगरपालीकाले अहिले डोजर लगाएर काम गर्न र सडक मर्मतका लागी खटिएको छ।


