धनगढी। सुदूरपश्चिम प्रदेशका किसान सरकारको मल वितरण नीतिले मर्कामा पर्ने गरेका छन्। नेपाल सरकारले मल वितरण गर्ने संस्थालाई माग भन्दा कम मल उपलब्ध गराउँदा सो समस्याको प्रत्यक्ष मारमा किसान पर्न थालेका हुन्।
सरकारले अनुदान प्राप्त रासायनिक मल वितरण गर्ने संस्था कृषि सामग्री केन्द्रलाई कैलालीका लागि ८०० मेट्रिकटन डिएपी बिक्री गर्ने अख्तियारी दिएको छ। तर धान खेतीका लागि डिएपी बेच्ने अख्तियारी दिएकोमा ३०० मेट्रिक टन मल मात्रै भित्रिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका का.मु प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले ३०० मेट्रिक टन मल सहकारीलाई बाँड्दा मुस्किलले एक सहकारीलाई ४० बोरा मात्रै परेकोे बताए।
उनले कैलालीका लागि तोकिएको कोटाको बाँकी ५ सय मेट्रिक टन डिएपी भने असार अन्तिम सम्म मात्रै आउने बताए। नेपालको पुर्वि क्षेत्र भन्दा सुदूरपश्चिममा खेतिको समय एक महिना छिटो हुने गरेकोमा सरकारले एक महिना ढिलो गरी मात्रै मल उपलब्ध गराउने गरेका कारण हरेक वर्ष सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीको पश्चिमी क्षेत्रमा रासायनिक मलको अभाव हुने गरेको का.मु प्रबन्धक बोगटीको भनाई छ ।सुदूरपश्चिममा पूर्वको भन्दा एक महिना छिटो खेती गर्न सुरु हुने गर्दछ ।’ देश भरका लागि एक साथ मल पठाउने सरकारको नीतिका कारण सुदूरपश्चिममा रासायनिक मलको समस्या हुने गरेको उनले बताए ।
उनका अनुसार सरकारले सुदूरपश्चिममा डिएपी आवश्यक परेको बेला यूरिया र यूरिया आवश्यक भएको बेला डिएपी मल पठाउने गरेको छ। अहिले सुदूरपश्चिममा डिएपी मल आवश्यक परेको कार्यालय प्रमुख प्रादेशिक प्रबन्धक बोगटीले बताए । तर केन्द्रबाट यूरिया मल पठाइएको छ, एक महिनापछि यहाँ डिएपी आवश्यक पर्ने हुन्छ, त्यतिवेला डिएपी आउने बताए। उनले सुदूरपश्चिममा छिटो खेती हुने गरेका र यहाँ पूर्वि नेपालको भन्दा छिटो मल उपलब्ध गराउने गरी यहाँका जनप्रतिनीधिले आवाज उठाउनु जरुरी रहेको बताए।
‘अहिलेसम्म सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको पनि यस विषयमा खास्सै ध्यान गएको पाइँदैन,’ बोगटीले भने, ‘जनताका समस्या बुझेर यहाँका जनप्रतिनिधिले समयमै मल ल्याउन पहल गर्न सके यो समस्या समाधान हुन सने उनको भनाई छ । यस्तै सरकारी अनुदान प्राप्त रासायनिक मल विक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा अहिलेसम्म पनि कोटा अनुसारको रासायनिक मल डिएपी पुगेको छैन।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई बर्षे वालीका लागि भन्दै प्रदेश भरका लागि दुई हजार ७९ मेट्रिक टन डिएपीको कोटा छुट्याएको छ।
तर, हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनमा जम्मा ७ सय मेट्रिक टन मात्रै डिएपी आएको साल्ट ट्रेडिङका सूचना अधिकारी रामचन्द्र जोशीले बताए। उनले पनि सरकारले पूर्वमा हुने खेतीको समय हेरेर रासायनिक मल विक्री गर्ने गरेका कारण सुदूरपश्चिममा मल अभाव भएको बताए। उनले पनी सरकारले पुर्वको खेति गर्ने सिजनलाई आधार मानेर सुदूरपश्चिममा मल पठाउँदा समस्या भएको बताए ।भारतको कोलकत्ता बन्दरगाहाबाट नेपालका लागि एक ¥याक –एक लटमा दुई हजार ५ सय मेट्रिक टन मल आउने गरेको भन्दै उनले पहिलो लटको मल सुदूरपश्चिममा पठाए यहाँ हुने रासायनिक मल अभाव समस्या समाधान हुने उनले बताए। सुदूरपश्चिममा असार २० सम्म धान रोपाई सम्पन्न भइसक्ने गरेको भए पनि सरकारले असार अन्तिम सम्म मात्रै यहाँका लागि डिएपी पठाउने गरेको उनले बताए।
सूचना अधिकारी जोशीले यसपटक धानका लागि चाहिने रासायनिक मल यूरियाको भने अभाव नहुने देखिएको बताए । बर्षे बालीका लागि साल्ट ट्रेडिङ कर्पोरेसनलाई चार हजार चार सय मेट्रिक टन यूरियाको कोटा निर्धारण गरिएकोमा हालसम्म दुई हजार दुई सय मेट्रिकटन यूरिया भित्रिसकेको र यूरिया आउनेक्रम जारी रहेका कारण धानका लागि चाहिने यूरियाको अभाव नहुने देखिएको उनले बताए।साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले फागुनदेखि वैशाखसम्म मात्रै यूरिया २ हजार ५ सय मेट्रिक टन र डिएपी १ हजार ६ सय ६३ मेट्रिक टन वितरण गरेको सूचना अधिकारी जोशीले जानकारी दिए। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यूरिया र डिएपीसँगै एसएसपी रासायनिक मल पनि विक्री वितरण गर्दै आएको जनाएको छ।