धनगढी। सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट समयमा ल्याउन सकेका छैनन्। यहाँका ८८ स्थानीय तहमध्ये तीन पालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेका हुन् ।सुदूरपश्चिमका ८५ स्थानीय तहले आइतबार बजेट पेश गरेका हुन्।
असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था भएपनि दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका र बझाङको थलारा गाउँपालिकाबजेट ल्याउन नसकेका हुन् । शैल्यशिखर नगरपालिकाका निमित्तप्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जनप्रतिनिधिबीच बजेटमा देखिएको पुरानो दायित्व विषयमा छलफल तथा समझदारी हुन नसक्दा निर्धारित समयमा बजेट आउन नसकेको बताए। बजेट पेश हुन अझै २/३ लाग्ने उनको भनाइ छ ।
थलारा गाउँपालिकाले पनि २/३ भित्र बजेट ल्याउने बताएको छ । गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले बजेट प्रस्तुत गर्नुभन्दा त्यसको पूर्वसन्ध्यामा प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले केही वडाध्यक्षमाथि अभद्र व्यवहार गरेपछि उत्पन्न विवादले बजेट प्रस्तुत हुन नसकेको उनले बताए । तर आफूले विवाद समाधानमा लागेको बताउँदै २/३ दिनभित्रै बजेट पेश हुने जानकारी दिए । त्यस्तै, डडेल्धुराकोपरशुराममा वडाको बजेट निर्धारणबारे विवाद भएपछि आइतबार बजेट प्रस्तुत हुन सकेन । परशुरामका नगरप्रमुख भरत बलायर जोशीले केही दिनमै बजेट ल्याउने सहमति भइ कार्यपालिका सदस्यहरुलाई बजेटको कपी पेश गरिसकिएको बताए ।
संघीय अनुदानमा भएको कटौतीसँगै आन्तरिक आय बढाउन नसक्दा स्थानीय तहहरुले बजेटको आकार बढाउन भने सकेका छैनन्। यहाँका प्रायः स्थानीय तहहरुले अघिल्लो वर्षजस्तै यातायात, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका छन्। सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीले ‘हाम्रो धनगढी, हामी आफै बनाउँछौं’ अभियान सञ्चालन गर्ने भएको छ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कमेयर गोपाल हमालले सो अभियानअन्तर्गत नगरभित्रका भौतिक पूर्वाधार निर्माण, कृषिको व्यवसायीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारलगायतका कार्य गरिने बताए। हमालले ‘एक वडा एक कृषि उत्पादन’ गर्नका लागि प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था मिलाइने बताए। उनले नगरभित्र तरकारी खेतीको व्यावसायीकरणमा जोड दिँदै प्रत्येक वडामा आईपीएम कृषि पाठशाला सञ्चालन गरिने बताए।